काठमाण्डौ । अर्धकट्टीसहितको मतपत्र भेटिएपछि स्थगन भएको भरतपुर महानगरपालिकाको मतगणना ३ घण्टापछि पुनः सुरु भएको छ । यो क्रममा एमालेले आफ्नो अग्रतालाई कायमै राखेको छ । 

भरतरपुरस्थित निर्वाचन कार्यालयका अधिकारीहरुका अनुसार हालसम्म एमालेको तर्फबाट मेयरका उम्मेद्वार देवी ज्ञवालीले ३७ हजार २ सय ६६ मत ल्याएका छन् । उनलाई माओवादी केन्द्रकी रेणुु दाहालले ३५ हजार ६ सय ६७ मतले पछ्याइरहेकी छिन् । 

उपमेयरमा कांग्रेसकी पार्वती शाहले ३९ हजार ४ सय २७ मत ल्याएका छन् भने एमालेकी दिव्या आचार्यले ३३ हजार ९ सय ३५ मतले पछ्याइरहेकी छिन् । 

वडानम्बर १७ को मतगणनाको क्रममा शनिवार बिहान १२५ मत अर्धकट्टीसहितको भेटिएपछि त्यसलाई सदर मान्ने कि बदर मान्ने भनेर दलबीच विवाद भएको थियो । निर्वाचन सम्बन्धी निर्देशिकाले त्यस्ता मतलाई सदर मान्ने व्यवस्था गरेको र सोही अनुसार अगाडि बढ्ने सहमति भएपछि रोकिएको मतगणना कार्य पुनः सुचारु भएको हो ।