काठमाण्डौ । रोटरी इन्टरनेशनल डिष्ट्रिक्स ३२९२ का सदस्यहरू तथा तिनका परिवारलाई विशेष प्राथमिक एवम सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने सिलसिलामा रोटरी इन्टरनेशनल र नर्भिक इन्टरनेशनल हस्पिटल बीच एक सहमति पत्रमा हस्ताक्षर भएको छ । 
 
रोटरी इन्टरनेशनल डिष्ट्रिक्स ३२९२ का डिष्ट्रिक्स गर्भनर चिन्तामणि भट्टराई र नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरीले असोज १५ गते एक विशेष समारोहका बीच उक्त सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
 
सहमतिअनुसार नर्भिकले रोट्री इन्टरनेशनलका सम्पूर्ण रोट्रीयनहरू तथा तिनका परिवारलाई एक बिशेष प्राथमिकता सहितको निदानात्मक, निरोधात्मक, रोकथाममूलकर उपचारात्मक चिकित्सा सेवा प्रदान गर्नेछ । ललितपुरमा आयोजित रोटरीयनहरूको इन्टरसिटी बैठक हुँदै गर्दा उक्त सहमतिमा हस्ताक्षर भएको हो । इन्टरसिटी बैठक तथा सहमति पत्र हस्ताक्षर समारोहलाई रोटरी क्लब चन्द्रागिरी, रोटरी क्लब कुपण्डोल र रोटरी क्लब अफ स्वयम्भूले आयोजना गरेका थिए । उक्त बैठकमा रोटरी क्लबका पूर्व डिष्ट्रिक्स गभर्नरहरू, प्रेसिडेन्टहरू, विशिष्ट पदाधिकारीहरू र नर्भिकको मेडिकल अन्कोलोजी विभागका चिकित्सकहरू सहभागी थिए ।
 
रोटरी क्लब दरबारमार्गका चार्टर्ड प्रेसिडेन्ट तथा नर्भिक मेडिकल अन्कोलोजी विभागका प्रमुख प्रा.डा राजेन्द्रप्रसाद बरालले सो समारोहमा अर्वुद रोग (क्यान्सर) र तिनका जटिलताहरू, रोकथामका उपायहरू आदि बारे आफ्नो गहन मन्तव्य दिएका थिए भने नर्भिककी प्रसूति तथा स्त्रीरोग विभागीय प्रमुख प्रा. डा अचला वैद्यले नेपालमा महिलाहरूमा हुने स्तन क्यान्सर, पाठेघरको क्यान्सर र मुखको क्यान्सर र तिनलाई समयमै निदान गराउँदाका फाइदाहरू आदि बारे वृहत् प्रस्तुति दिएकी थिइन ।
 
रोटरीयन डा.निरज श्रेष्ठले रजोनिवृत महिलाहरूमा देखापर्ने अस्थीपञ्जरको समस्या लगायत ओस्टियोपोरोसिसको निदानात्मक, उपचारात्मक एवम रोकथामका उपायहरू बारे व्याख्या गरेका थिए ।
 
सहमतिअनुसार आ–आफ्ना सामाजिक उत्तरदायित्व अन्तर्गत नर्भिक र रोटरी इन्टरनेशनलको संयुक्त तत्वावधानमा देशका विभिन्न भागमा विशेष स्वास्थ्य शिविर गर्दै लगिने र समाजलाई सेवा पुर्याउँदै लगिने सहमति भएको छ ।