काठमाण्डौ । रोबोटको तीव्र विकास र यसलाई विभिन्न काममा प्रयोग गर्ने क्रम बढेसँगै यो मानवका लागि समेत खतरा साबित बन्दै गएको छ । ब्रिटेनमा मात्र करिब १ करोड कामदारको जागिर रोबोट वा आर्टिफिसियल इन्टलीजेन्सका कारण धरापमा पर्नसक्ने एक रिपोर्ट सार्वजनिक भएको छ । 

रिपोर्टका अनुसार आउने १५ वर्षभित्र ब्रिटेनमा करिब ३० प्रतिशत कामदारको जागिर(काम) रोबोट तथा अटोमेसनले खोसिदिनेछन् । तथापि, आर्टिफिसियल इन्टलीजेन्स टेक्नोलोजीका कारण उत्पादनमा भारि वृद्धि हुने र यसले थप रोजगार भने सिर्जना गर्ने दाबी गरिएको छ । 

अकाउण्टेसी फर्म पीडब्ल्यूूसी नामको एक खोजकर्ता कम्पनीका अनुसार अमेरिकामा अटोमेसनका कारण ३८ प्रतिशत मानिसका अगाडि रोजगारको खतरा हुनेछ । यस बाहेक जर्मनीमा ३५ प्रतिशत र जापानमा २१ प्रतिशत मानिसले रोबोटकै कारण आफ्नो जागिरबाट हात धुनुुपर्ने हुनसक्छ । 

विश्लेषकहरुको भनाईमा विश्वभरका कयौं क्षेत्रमा अटोमेसनको प्रभाव देखिनेछ । रिपोर्ट अनुसार सबैभन्दा बढी यातायात तथा स्टोरेजको क्षेत्रको रोजगारी खोसिन सक्छ । यो क्षेत्रमा काम गर्ने मानिसमध्ये ५६ प्रतिशतले रोबोटकै कारण जागिर छाड्नुपर्ने हुनसक्ने समते अध्ययनले देखाएको छ । यसबाहेक रोबोट तथा अटोमेसनकै कारण उत्पादनमूलक क्षेत्रमा ४६ प्रतिशत, होलसेल तथा रिटेल सेक्टरमा ४४ प्रतिशत कामदारको रोजगारी गुम्नसक्छ । 

अध्ययनकर्ता कम्पनीका अनुसार ब्रिटेनमा सबैभन्दा धेरै रोजगारी दिने होलसेल तथा रिटेल क्षेत्रमा २२.५ लाख कामदारको जागिर जोखिममा छ । यस अलावा उत्पादनमूलक क्षेत्रमा १२ लाख, प्रशासनतर्फ ११ लाख मानिसको रोजगारी रोबोटकै कारण जुनसुकै बेला गुम्नसक्ने खतरा छ ।