-भक्तराज रसाइली
काठमाण्डौ । रोबोट अर्थात् यन्त्रमानव नेपालमा पनि विद्यालय, बैंक तथा रेष्टुरेन्टहरुमा प्रयोग हुन थालेको छ । 

विगत ६ महिनादेखि काठमाण्डौको केकेएफसी रेष्टुरेन्टमा समेत रोबोटलाई वेटरका रुपमा प्रयोग गरिएको छ ।

राजधानीको न्यूरोड, खिचापोखरीमा अवस्थित पिपूल्स प्लाजामा रहेको चिकेन फ्राइड आइटम बेचिरहेको केकेएफसी अर्थात् क्रिस्पी क्रञ्ची फ्राइड चिकेनले आफ्नो रेष्टुरेन्टमा रोबोटद्वारा सेवा प्रदान गरी देशकै पहिलो रोबोट रेष्टुरेन्ट बनेको छ ।

दुई करोड लगानीमा सन् २०१७ नोभेम्बर २४ देखि संचालनमा आएको केकेएफसीमा ३ वटा रोबोट रेष्टुरेन्टमा वेटरका रुपमा सर्भ गरिरहेका भेटिन्छन् । 
यो रेष्टुरेन्टका अन्य शाखा मैतीदेवी, सिभिल मल र कुमारीपाटीमा समेत छन् । यो रेष्टुरेन्ट बिहान १० बजेदेखि ८ बजेसम्म खुल्ला रहन्छ भने मैतीदेवी र कुमारीपाटीमा बेलुकी १० बजेसम्म खुल्ला रहन्छ । 

रेष्टुरेन्टलाई फरक ढङ्गले डिजिटल बनाउने हेतूले नयाँ प्रयोग गरिएको एरिया मेनेजर देबेन्द्र रिमालको भनाई छ । कस्टमर सर्भिस र डाइनिङ्ग कस्टमर सर्भिस रोबोटले नै गर्ने गरेको रिमालले बताए । 

‘सुरुमा पैसा तिरिसकेपछि रोबोट आफैंले ग्राहकको टेबलसम्म खानेकुरा डेलिभरी गरिदिन्छ।’उनले भने–‘हामीले स्पेशल टार्गेट रोबोट र न्यू टेष्ट अनि नयाँ अनुभवलाई गरेका हौं । ग्राहकबाट पाएको अपार मायाबाट हामी उत्साहित छौं।’

केकेएफसीमा चिकेन बर्गर, ग्रिल्ड चिकेन, पपकर्न चिकेन, स्पाइसी विङ्गस, स्पाइसी फ्रेञ्च फ्राइ, चिकेन बिर्यानी लगायतका परिकारहरु उपलब्ध छन् ।
रेष्टुरेन्टमा ९० जना देखि १ सय जनासम्म ग्राहक सिट क्षमता रहेको र सिगंल लिकंरको ३० रुपैयाँदेखि २ सयसम्मका आइटमहरु पाइन्छन् ।

कम्बो अफरमा ३ सयदेखि २८ सयसम्मका रेसिपी पस्किने केकेएफसीमा फ्री होम डेलिभरीको समेत सुविधा छ । 

भुक्तानीका लागि ईसेवा र आइएमई पेमेन्ट प्रयोग गर्न सकिने एरिया मेनेजर रिमालले जानकारी दिए । रेष्टुरेन्टभित्रै एकापट्टि केकेएफसी क्याफे पनि छ, जहाँ कफी र बास्किन रबिन्सका आइसक्रिम उपलब्ध छन् ।

केकेएफसीका सीइओ अमर शाह अष्ट्रेलियामा रहँदा म्याकडोनाल्डको अनुभवले नै केकेएफसीको जन्म भएको रिमालले बिजशालालाई बताए । उनले थपे–‘मसँग पनि केएफसीमा ६/७ वर्ष काम गरेको अनुभव छ ।’

निकट भविष्यमा सेल्फ अर्डर सिस्टममार्फत मनिटरमा अर्डर गर्न मिल्ने किसिमले अर्डर, भुक्तानी र डेलिभरीका लागि कर्मचारीबिनै डिल गर्न सकिने प्रबन्ध मिलाउन लागिएको मेनेजर रिमालले जानकारी दिए । अहिले पनि केकेएफसी एपमार्फत अनलाइन अर्डर र भुक्तानी गर्न मिल्छ । 

मुख्य शाखामा रहेको रेष्टुरेन्टमा दैनिक २ सय हाराहारी ग्राहक र होम डेलिभरीबाट ४० जना हाराहारीमा सेवा दिइरहेको रेष्टुरेन्टले दैनिक एक लाख बढीको व्यापार  गरिरहेको छ ।

सीतापाइलास्थित बुढाथोकी कोल्ड स्टोरबाट हलाल गरेको कुखुरा ल्याई अत्याधुनिक मेसिनबाट प्रोसेस गरी एकनासका साइजमा मासुहरु ल्याएर विभिन्न परिकारहरु बनाउने गरिएको समेत रिमालले सुनाए ।

‘जापानबाट ल्याइएका ३ वटा रोबोट अब हरेक स्टोरमा राखिनेछ।’ मेनेजर रिमालले भने–‘समयको अनुकुलता हेरेर हामी नेपालभर सबै शहरमा जानेछौं ।’

हाइजेनिक फूड सर्भिस नेपाली स्वादमा कुखुराका परिकार खुवाउने मुख्य लक्ष्य भएको रिमालको भनाइ छ ।

स्पेसल फेमिली वातावरणमा बच्चा, विद्यार्थीहरु र परिवारका लागि नै फोकस गरी रेष्टुरेन्ट खोलिएको उल्लेख गर्दै रिमाल भन्छन्–‘बच्चाहरुका लागि रोबोट विशेष आकर्षण भएको र स्वस्थकर खाना भएकाले काठमाण्डौंबासीको मायाले खुशी छौं । रेष्टुरेन्ट धुम्रपान र मद्यपान निषेध गरिएको छ ।’

सिर्जनशील उद्यमी र युवाहरुको यस्ता प्रयासलाई राष्ट्रले समेत संरक्षण तथा प्रवद्र्धन गर्न जरुरी छ । बिदेशमा सिकेको सीप स्वदेशमा लगानी गरेको खण्डमा मुलुकले आर्थिक रुपमा काँचूली फेर्न धेरै समय लाग्दैन । मुलुकले बोकेको मुख्य नारा समृद्ध नेपाल  र सुखी नेपालीको सपनाहरु पूरा गर्न सम्पूर्ण युवाहरुकै अमूल्य भूमिका रहन्छ । व्यवसाय गर्दा विश्वमा गरिएका नवीन प्रयोगहरुलाई समेत देशमा भित्र्याउन सके यसले बदलिँदो परिवेश अनुसार व्यवसाय गर्ने अनुकूल वातावरण पनि सिर्जना गर्नेछ ।