काठमाण्डौ । चर्चाको शिखरमा रहेको चितवनको भरतपुर महानगरपालिकामा जारी मतगणना अन्तर्गत मेयर पदको भिडन्त रोमाञ्चक मोडमा पुगेको छ । 

यो महानगरको हालसम्म ६ वटा वडाको मत गणना सकिएको छ । कुल १ लाख १२ हजार ७ सय ४१ मत खसेकोमा अब गन्न ११ हजार मात्र बाँकी छ । 

आइतबार बिहानसम्म एक हजार १ सय ४५ मतले मेयर पदमा एमाले उम्मेद्वार देवी ज्ञवाली कांग्रेस माओवादी गठबन्धनकी माओवादी उम्मेद्वार रेणु दाहालभन्दा अगाडि छन्। वडा नम्बर १८ मा वडाध्यक्ष कांग्रेसले जितेसँगै एमालेसँगको मतअन्तर रेणुुले घटाएकी हुन् । 

हालसम्म मेयरमा एमालेका उम्मेद्वार ज्ञवालीको मत संख्या ३९ हजार ७ सय ५० पुगेको छ । गठबन्धनकी उम्मेद्वार रेणु दाहाललाई ३८ हजार ६०५ मत आएको छ । अब गन्न बाँकी रहेका वडाहरुमा  १९, २०, र २१ वडाहरु हुन्। 

हालसम्म नतिजा घोषणा भएकामध्ये २, ४, ५, ७, ९, १०, ११, १२, १६, २२, २३, २४, २८ र २९ नम्बर वडामा एमालेका उम्मेद्वारहरु वडाध्यक्ष पदमा विजयी भएका छन् । नेपाली काँग्रेसले १, ३, ६, ८, १४, १५, १७, १८ र २७ नम्बर गरेर कुल ९ वटा वडामा वडाध्यक्षमा बाजी मारेको छ । माओवादीका उम्मेद्वारहरु १३, २५ र २६ नम्बर गरेर तीन वटा वडामा मात्र वडाध्यक्ष जितेका छन्।