काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले भोलि(मंगलबार)देखि सुरु हुने ७ दिने लकडाउन अवधिमा आफ्ना सबै उद्योग प्रतिष्ठान बन्द गर्न र त्यहाँ कार्यरत कामदार कर्मचारीलाई विदा दिन आफ्ना सदस्यहरुलाई आग्रह गरेको छ । 
सोमबार राति एक विज्ञप्ति प्रकाशित गर्दै महासंघले यस्तो आग्रह गरेको हो । 

‘विश्वलाई नै त्रसित बनाइरहेको कोरोना भाइरस (कोभिड–१९) नेपालभर फैलन सक्ने सम्भावना देखी सोको रोकथाम, नियन्त्रण तथा निर्मुल गर्न नेपाल सरकार मन्त्रिपरिषदबाट भएको भोलि विहान ६ बजेदेखि चैत्र १८ गते विहान ६ बजेसम्म अत्यावश्यक सेवामा संलग्न बाहेक कोही पनि घर बाहिर निस्कन नपाउने लगायतका निर्णय समेतलाई मनन गर्दै उक्त अवधिभर आफ्ना सबै उद्योग प्रतिष्ठानहरू बन्द गरी त्यहाँ कार्यरत कामदार कर्मचारीहरूलाई विदा दिई सरकारले गरेको उक्त निर्णयलाई सफल पार्न नेपाल उद्योग वाणिज्य महासंघ आफ्ना मातहतका सबै सदस्य संघ, संस्था, उद्योग प्रतिष्ठानहरूलाई हार्दिक अपिल गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ । 
 
कठीन अवस्थामा मानव स्वास्थ्यको संवेदनशीलता समेतलाई ख्याल गरी व्यक्तिगत स्वास्थ्यप्रति अधिकतम सजगता अपनाउँदै सुरक्षित रहन पनि महासंघले सबै उद्योगी व्यवसायी, कामदार कर्मचारीहरुलाई अपिल गरेको छ । 

कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा निर्मुल गर्न नेपाल सरकारले जारी गरेका सबै नीति, कार्यक्रम, स्वास्थ्य योजना तथा निर्णयहरूमा आफ्नो ऐक्यवद्धता प्रकट गर्दै महासंघले आ–आफ्ना स्थानबाट सहयोग गरी सफल पार्न आफ्ना सबै सदस्य संघ, संस्था, उद्योग प्रतिष्ठानहरू सहित सबैमा आह्वान समेत गरेको छ ।