काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरस रोकथामका लागि सरकारले लकडाउन जारी राखेको छ। एकातिर कोरोनाबाट संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ भने अर्कोतिर लकडाउन लम्बिँदै जाँदा आत्महत्याका घटना पनि उल्लेख्य वृद्धि भइरहेको छ। 

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार लकडाउन सुरु भएको दिन चैत ११ देखि जेठ १० गतेसम्म ९६३ जनाले विभिन्न तरिका अपनाएर आत्महत्या गरेको देखिन्छ। यो हिसाबले प्रत्येक दिन औसत १६ जनाले आत्महत्या गरेको देखिन्छ। 

कार्यालयको तथ्यांकअनुसार लकडाउनको सुरुआती १६ दिनमा आत्महत्या दर दैनिक १६ जना थियो। त्यसपछिका ४५ दिनमा दैनिक औसत १७ जनाले आत्महत्या गरेको देखिन्छ। 

आर्थिक वर्ष २०७६/७७ को सुरुआती आठ महिनामा औसत दिनमा १४ जनाले आत्महत्या गरेका थिए। अपराधको दर पनि पछिल्लो समयमा बढेको छ।

लकडाउनका कारण उत्पन्न मानसिक तनाव नै आत्महत्याको मुख्य कारण रहेको मनोचिकित्सकहरु बताउँछन्। यतिबेला नेपालमा मात्र नभई कोरोनाबाट पीडित सबै मुलुकमा अनेक किसिमका मानसिक रोग बढिरहेका छन्। लकडाउनका कारण व्यापारव्यवसाय बन्द हुनु, जागिर गुम्नु, आम्दानीका स्रोत ठप्प हुनु, भाइरसँगै अब जीवन कसरी चलाउने भन्ने आर्थिक तथा मानसिक उत्पीडन मानिसमा बढ्दै गएको मनोचिकित्सकहरुको भनाइ छ। 

कोरोनाकै कारण मानिसमा तनाव, चिन्तारोग, निद्रा नलाग्ने, डिप्रेसन हुनेजस्ता समस्या बढ्दै गएका छन्। उनीहरु मद्यमान र धूमपान लतमा पर्न थालेका छन्। घरमा झैझगडा पनि बढ्न गएका छन्। 

मानसिक छटपटी र चिन्तालाई समयै रोक्न नसकिने हुँदा त्यसले आत्महत्या निम्त्याउने मनोचिकित्सकहरुको भनाइ छ। मानसिक तनाव उग्र बन्द मानिसहरु विषय सेवन, हाम फालेर वा पासो लगाएर आदि उपाय अपनाएर आत्महत्याको बाटो रोजिरहेको उनीहरु बताउँछन्।

यता प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी नीरजबहादुर शाही भने आत्महत्याका घटनाहरुका यकिन कारण खुल्न नसकिरहेको बताउँछन्। ‘सामान्य अवस्थामा आर्थिक, सामाजिक वा व्यक्तिगत कारणले यस्ता घटना हुन्छन्’, उनी भन्छन्, ‘लकडाउनकै कारण आत्महत्याका घटनाहरु बढेको भन्ने यकिन प्रमाण छैन।’ 

लकडाउन जति लम्बियो, त्यति नै मानसिक रोगको मात्रा बढ्दै जाने मनोचिकित्सकहरु बताउँछन्। कोरोना संकट सकिएपछि पनि समस्या रोकिकिने हुनाले अहिल्यैबाट रोकथामको तयारीमा जुट्नुपर्ने उनीहरुको सुझाव छ। 

मनोचिकित्सकहरु मानसिक तनावकै कारण बढ्दै गएका आत्महत्याका कारणलाई रोक्न समाजदेखि परिवारसम्म सचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको बताउँछन्। उनीहरुका अनुसार यसका लागि जो मानिस मानसिक रुपमा बिरामी छ उसलाई परिवार वा चिकित्सकका माध्यमबाट उचित परामर्श दिन आवश्यक रहेको बताउँछन्। 

अमेरिकाको न्युयोर्कमा कोरोना नियन्त्रण नहुँदै मानसिक परामर्श थालनी भएको छ। त्यहाँका गभर्नर एन्ड्री क्युमोले ६ हजार कर्मचारी नियुक्ति गरेका छन्। उनीहरू मनोवैज्ञानिक उपचारका लागि चौबीसै घण्टा निःशुल्क खटिरहेका छन्। 

नेपालमा पनि आर्थिक वर्ष २०७७/७८ को बजेटमा भने मनोवैज्ञानिक त्रास निराकरणका लागि खर्च विनियोजन गरिएको छ। अर्थमन्त्री युवराज खतिवडाले मानसिक स्वास्थ्य सम्वद्र्धनका लागि स्थानीय र सामुदायिक संघसंस्थाको सहभागितामा आरोग्य केन्द्र, व्यायामशाला र योग केन्द्र सञ्चालन गर्ने घोषणा गरेका छन्।