-उपेन्द्र सिग्देल

शेयर कारोवार बैंकिङ करोवार जस्तो खातामा मौज्दात भएको रकम एटिएम मेसिनमा कार्ड हाल्ने बित्तिकै बाहिर निस्कने वा काउन्टरमा चेक दिने वित्तिकै पैसा पाइहालिने कार्य होइन । 

यो अस्पताल वा औषधि पसल वा खाद्यान्न पसलजस्तो अत्यावश्यक क्षेत्र पनि होइन । 

अहिले देशका नागरिक सबै अधिकार निलम्बन गर्न राज्यलाई स्वयम् आग्रह गरिरहेका छन् । त्यसैले यो अब बिषम परिस्थितमा सेयर कारोवार गर्न नपाउँदा हकअधिकार हननको कुरा पनि रहेन ।

राष्ट्र बैंकले ऋणिसँग साँवाब्याज लिने कार्य चैत मसान्तसम्म रोकिसकेको अवस्था छ । सबै सामाजिक तथा सांस्कृतिक कार्यहरू बन्द छन् । खानपिन र औषधोउपचारभन्दा बाहेकका सबै कार्यहरू बन्द छन् । अब शेयर बेचेर गर्जो टार्ने, ऋण तिर्ने, ब्याज तिर्ने बिषय पनि रहेन ।

यहाँ विदेशी लगानीकर्ता छैनन् र विदेशी कम्पनी सूचिकृत पनि छैनन् । अन्तराष्ट्रिय कानुन र दवाब, दायित्वको विषय पनि भएन र रहेन । 

हाम्रो बजार विदेशका बजार जस्तो पूर्ण स्वचालित र संस्थागत लगानीकर्ता रहेको वा पूर्वधार र संस्थागत संरचनायुक्त पनि छैन । यहाँको बजारलाई विदेशी बजारसँग तुलनै गर्न मिल्दैन । 

नेपालको शेयर बजारमा एउटा करोबार हुन र त्यसको राफसाफ हुनलाई नेप्से, ब्रोकर, सिडिएस, डिपि, राफसाफ बैंक र कारोवारी भौतिक रुपमै संलग्न हुनु पर्दछ र यो चक्र पूरा हुन कम्तीमा चार दिन लाग्दछ ।

सरकार, नियामक र नेप्सेका अधिकारीहरूले बजार खुलाउने विषयमा जबरजस्ती नगर्दा नै लगानीकर्ताको हित हुन्छ । 

दोस्रो बजारमा यस बिषम परिस्थितिमा करोवार सम्भव छैन । केही कारण र आधार यस्ता छन्:
१.देश पूर्ण लकडाउनमा छ । अत्यावश्यक सेवा दिन, लिन, हिँडडूल गर्न प्रशासनबाट जारी हुने पास आवश्यक पर्छ । त्यो पास एकदुईजनालाई दिएर भएन, कम्तीमा सेवोनलाई २०, नेप्सेलाई २०, सिडिएसलाई १५, प्रत्येक ब्रोकरलाई कम्तीमा ५ वटाको दरले ५० वटालाई र तिनका ५० शाखालाई गरी ६०० जति, मर्चेन्ट बैंक र निक्षेप सदस्यलाई करिब ७० वटा  र तिनका मोफसलका शाखा आदि गरी थोरैमा पनि ५ सय र कारोवारमा संलग्न हुनसक्ने २० लाखभन्दा बढी लगानीकर्ताहरूलाई पास कस्ले उपलब्ध गराउने ? पासबिना मानिस हिँडडूल गर्न नसक्ने र ब्रोकर अफिस, सिडिएस, मर्चेन्ट बैंक र निक्षेप सदस्यसम्मै पुग्न नसक्ने भएपछि कसरी बजार संचालन गर्ने ?सेवा प्रदायकले सेवा प्रदान गर्न सक्छन सक्दैनन्, बजार स्वस्थ रूपमा चल्न सक्दछ कि सक्दैन ? सरकार, नियामक र बजार संचालकले यो बिषयमा प्रष्ट हुन जरूरी छ ।

२. बुँदा १ बमोजिमको ब्यवस्था गरेर बजार खुलेमा अब सरकारको निर्णय र आग्रह अनुसार बन्दाबन्दि हुन्छ कि हुँदैन ? त्यसले भाईरस संक्रमणको जोखिम बढाउँछ कि बढाउँदैन ? सरकार, नियामक र बजार संचालक प्रष्ट हुन जरूरी छ ।

३.हाल प्रचलनमा रहेको कारोवार प्रणाली पूर्ण अनलाइन होइन । यसले खरिदकर्ताको बैंक खाताको मौज्दात चेक गर्दैन र शेयर खाताको मौज्दात पनि पूर्णरूपमा जाँच गर्दैन । अफलाईन करोवारमा त झनै बढी जोखिम छ । खरिदको रकम र बिक्रीको शेयर हस्तान्तरण गर्न कारोबारीहरू प्रायः आफैं ब्रोकर अफिस वा बैंक र निक्षेप सदस्यकोमा पुनः उपस्थित हुनु पर्दछ । करोवारका लागि रकम र धितोपत्रको पूर्वभुक्तान गर्ने कानुनी संरचना र प्रणाली पनि छैन ।

४.कारोबारीहरूले कारोवार गरे पश्चात आफ्नो दायित्व पूरा गरेनन् वा बिषम परिस्थितिका करणले पूरा गर्न सकेन् भने त्यसबट हुने जोखिम वा राफसाफमा हुनसक्ने अवरोध सल्टाउने मेकानिजम् सरकार, नियामक वा बजार संचालकसँग छ त ? यसमा प्रष्ट हुन आवश्यक छ । 

५.देश नै रोग र त्रासमा रहेको तथा रोगबाट बचौं र बचाऔं भनिरहेको बेलामा बजारमा खेल्ने र खेला देखाउने काम गरेमा वा भएमा त्यसको परिणाम सहज, स्वभाविक र अपेक्षित हुँदैन । सीमित पहुँच र पैसावालालाई अवसर बने पनि साना लगानीकर्ताको लगानीमा अकल्पनीय क्षति हुनसक्छ । बजार आम मानिसहरूका लागि भरोसायोग्य हुँदैन । त्यसको मूल्य साना लगानीकर्ताले मात्र नभएर देश र समग्र अर्थतन्त्रले ब्यहोर्नु पर्दछ । 

तसर्थ, यस्तो अवस्थामा पनि दोश्रो बजारको कारोबार खुलाउने भनेर भद्धा मजाक नगरौं । सबैले व्यवहारिक र जिम्मेवार भएर सोंचौ । 

सम्बद्ध सबैलाई चेतना भया ।