काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका लागि मुलुकमा जारी लकडाउनका कारण ऋणको माग कमी आउँदा बैंकिङ क्षेत्रले सोचेअनुरुप लगानी गर्न पाइरहेका छैनन्।

लकडाउनयता बैंकहरुमा औद्योगिक र उपभोग्य क्षेत्रबाट ऋण माग घटेको छ। जसका कारण बैंकहरुबाट ऋण लगानी लगातार घटिरहेको हो। 

पछिल्लो एक साताको अवधिमा बैंकहरुबाट ऋण प्रवाह २ अर्ब रुपैयाँले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ। यो अवधिमा बैंकहरुमा निक्षेप भने ८ अर्ब रुपैयाँ बढेको राष्ट्र बैंकले उल्लेख गरेको छ।

राष्ट्र बैंकका अनुसार लकडाउनयता बैंकहरुको ऋण प्रवाह ३६ अर्ब रुपैयाँले घटिसकेको छ भने निक्षेप १ खर्ब १३ अर्ब रुपैयाँले बढेको छ। सामान्य अवस्थामा बैंकहरुको निक्षेप विस्तार कम हुन्थ्यो भने ऋण प्रवाह बढी हुने गरेको थियो। 

लकडाउनअघिसम्म बैंकको ऋण प्रवाह २८ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको थियो। लकडाउनयता कुल ऋण प्रवाह २८ खर्ब ९ अर्ब रुपैयाँमा झरेको छ।