काठमाण्डौ । लकडाउनको अवधि लम्बिएका कारण अर्थ मन्त्रालयले विभिन्न खालका करहरु बुझाउने समय सीमा समेत थपेको छ । 

अर्थमन्त्रालयका अनुसार २०७६ साल फागु र चैत महिनाको मासिक, माघ फागुन महिनाको दैमासिक र दोश्रो चौमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण तथा ती विवरण बमोजिमको कर दाखिला गर्ने म्याद आगामी जेठ २५ गतेसम्म कायम गरिएको छ । 

मूल्य अभिवृद्धि कर फिर्ता प्रयोजनका लागि निवेदन दिन पाउने अवधिसम्म जेठ २५ गतेसम्म नै थप हुनेछ । 

फागुन र चैत महिनाको अन्तशुल्क, अग्रीम कर कट्टी, अग्रिम कर असूलीको विवरण र सो अनुसारको कर दाखिला गर्ने म्याद समेत जेठ २५ गतेसम्म नै कायम गरिएको अर्थ मन्त्रालयले जनाएको छ । 

यस्तै, यसअघि सरकारबाट भएको घोषणाअनुसार विभिन्न खालका कर तथा राजश्व बुझाउने म्याद एक महिना थप गरी जेठसम्म सारिएको छ । 

शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क, दूरसंचार सेवा दस्तुर लगायतका दस्तु तथा शुल्क दाखिलाको मिति समेत जेठ २५ गतेसम्म नै कायम गरिएको छ ।