काठमाण्डौ । लकडाउन अवधिभर धितोपत्र बजार पनि बन्द हुने भएको छ ।

सरकारले आइतबार लकडाउनको अवधि चैत २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको थियो । सरकारले लकडाउनलाई पहिलाभन्दा थप कडा बनाउने निर्णय समेत गरेको छ । 

यो निर्णयसँगै धितोपत्रको दोश्रो बजार कारोबार के हुने भन्ने लगानीकर्तामा अन्यौल रहेको बेला नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले कम्तीमा पनि लकडाउन अवधिभर कारोबार नहुने प्रष्ट पारेको हो । 

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले आइतबार धितोपत्र बोर्डले बजार बन्द वा सुचारु गर्ने विषयमा नेप्सेको राय मागेको र आफूहरु बजार लकडाउन अवधिभर खुल्नुहुन्न भन्ने पक्षमा रहेको प्रष्ट्याए । ‘लकडाउन अवधिभर बजार खोल्ने निर्णय व्यवहारिक हुँदैन ।’ साउदले भने–‘लकडाउन अवधिभर दोश्रो बजार कारोबार पनि बन्द गर्ने औपचारिक निर्णय आज(सोमबार)को नेप्से बोर्डले गर्दैछ । लकडाउन अवधिभर बजार बन्द हुन्छ ।’ 

यसअघि अर्थमन्त्रालयले धितोपत्र बोर्डलाई सेयर कारोबार खुलाउने आशयको पत्र पठाएको थियो । सो पत्रपछि मंगलबारदेखि सेयर कारोबार खुल्ने भन्दै लगानीकर्ता, ब्रोकर तथा अन्य सरोकारवालाहरुबाट तीव्र विरोध भएको थियो ।

सबैबाट विरोध आएपछि धितोपत्र बोर्डले नेप्सेको राय माग्दै समयअनुकुल निर्णय लिन सुझाएको थियो ।  

धितोपत्र बोर्डले ऐनले दिएको अधिकार प्रयोग गरी ५ दिन कारोबार बन्दको यसअघि निर्णय गरेको थियो । ५ कार्यदिन कारोबर बन्द गर्ने भनिएको र त्यो अवधिको अन्तिम दिन आज हो । 

यसैबीच, सरकारले आइतबार घोषणा गरेको राहात प्याकेजमा धितोपत्र बजारका लागि समेत दुईवटा व्यवस्था गरिएको छ । अर्थमन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीका अनुसार कारोबार राफसाफ गर्न बाँकी रहेकाहरुले चैत्र मसान्तसम्म गर्नसक्ने छुट दिइएको छ । यस्तै, धितोपत्र ऐन बमोजिम सूचिकृत कम्पनीहरुले बुझाउनु पर्ने विवरण पनि चैत मसान्तसम्म बुझाए हुने सुविधा दिइएको छ । सो अवधिसम्म विवरण बुझाउँदा ती कम्पनीहरुले जरीवाना तिर्नुपर्ने छैन ।