काठमाण्डौ । नेपालमा जारी लकडाउन जेठ मसान्तसम्म लम्ब्याउने निर्णय भएको छ । 

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मन्त्रीपरिषद बैठकले जारी लकडाउनलाई बढाएर जेठ मसान्तसम्म पुर्याउने निर्णय गरेको हो । 

यस्तै, अन्तराष्ट्रिय सीमा नाका र विमानस्थल असार १३ गतेसम्म बन्दै राख्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिएका छन् । 

सरकारले पछिल्लो पटक लम्ब्याएको लकडाउन जेठ २० गते सकिँदैछ । त्यसपछि लकडाउन खुल्ने धेरैको अपेक्षाविपरीत सरकारले पुनः लकडाउन बढाउने निर्णय गररेको हो । 

भारतले समेत आजै त्यहाँ जारी लकडाउनलाई जून महिनाभर जारी राख्ने निर्णय गरेको छ । तर, त्यहाँको सरकारले लकडाउन जारी राखे पनि विभिन्न क्षेत्र खुलाउने निर्णय पनि गरेको छ । 

नेपाल सरकारले भने लकडाउनको मोडालिटीको विषयमा आज पनि कुनै निर्णय गर्न सकेन । 

यसैबीच, सरकारले कोरोना रोकथाम उच्चस्तरीय समितिले भारत तथा तेश्रो मुलुकबाट नेपालीलाई स्वदेश फर्काउने गरी तयार कार्ययोजना समेत पारित गरेको छ । 

सो कार्ययोजनाअनुसार ७ देखि १० दिनभित्र तेश्रो मुलुकबाट मात्रै २५ हजार बढी नेपालीलाई फर्काउने सरकारी योजना छ । 

त्यस्ता नेपालीलाई उनीहरुकै खर्चमा जहाजमार्फत काठमाण्डौ ल्याउने, उनीहरुकै खर्चमा यहाँको होटलमा १४ दिनको क्वारेन्टिनमा राखेर मात्र गाउँ फर्काउने सरकारको तयारी छ ।