काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले लकडाउन खुलेको ३ महिनाभित्र मात्रै कर बुझाउन सकिने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । 

जेठ २० गते आन्तरिक राजश्व विभागले आयकर, मूल्य अभिवृद्धि कर र अन्तशुल्कको विवरण र कर रकम जेठ २५ गतेभित्र दाखिला गर्न तागेता गरेपछि आक्रोशित निजी क्षेत्रले यसको तीव्र विरोध गरिरहेको छ । यही क्रममा चेम्बरले समेत लकडाउनको अवधिमा करको विवरण र रकम बुझाउने म्याज जारी हुनुलाई बिडम्बनापूर्ण भन्दै लकडाउन खुलेको ३ महिनाभित्रमा कर विवरण र रकम बुझाउने व्यवस्था गर्न माग गरेको हो । 

चेम्बरले जेठ २५ गतेभित्र करको विवरण र कर रकम बुझाउन भनी प्रकाशित सूचना खारेज गरी नयाँ सूचना प्रकाशनको व्यवस्था मिलाउन समेत माग गरेको छ । 

‘कोभिड-१९ को प्रकोपका कारण बिगत ७० दिन देखि मुलुक लक डाउनमा भएकोले समग्र आर्थिक एवम व्यावसायीक कारोवार ठप्प अवस्थामा रहेकोे छ । तरलताको अभावले कर्मचारी मजदुरको पारिश्रमिक लगायत अन्य बैंकको व्याज किस्ता तथा अन्य बिबिध खर्चहरु समेत धान्न नसकी रहेको अवस्था छ ।’ चेम्बरले विज्ञप्ति जारी गर्दै भनेको छ–‘आ.ब.२०७७/७८को  प्रस्तुत बजेट सम्बोधनको क्रममा समेत व्यवसायिक क्षेत्रले भोगिरहेको कठिन चुनौतिलाइ स्वीकार गरिसकेको अवस्था पनि छ । यस्तो कठिन अवस्थामा व्यवसायिक क्षेत्रबाट नगद प्रवाहको अभावले तत्कालै कुनै पनि करहरु तिर्न असमर्थ रहेको अवस्था छ।’