काठमाण्डौ । लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा बसेको मन्त्रीपरिषद बैठकले यसको जिम्मा कोरोना रोकथाम उच्चस्तरीय समितिलाई दिएको छ । 

समितिले लकडाउनको मोडालिटी परिवर्तनको एक खालको मोडालिटी पेश गरे पनि त्यो पूर्ण नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले थप गृहकार्य गर्न र अन्य सरोकारवालासँग समेत छलफल गरी परिस्कृत मोडालिटी पेश गर्न निर्देशन दिए । 

बैठकमा सहभागी एक मन्त्रीका अनुसार ओलीको प्रस्तावपछि मन्त्रीपरिषद बैठकले उच्चस्तरीय समितिलाई लकडाउन खुकुलो बनाउने मोडालिटी तयारीका लागि २ दिन समय दिने निर्णय गरेको छ । 

शुक्रबार र शनिवार उच्चस्तरीय समितिले थप गृहकार्य गरी परिस्कृत मोडालिटी तयार गर्नेछ । त्यसपछि आइतबार बस्ने मन्त्रीपरिषद बैठकले त्यसमाथि आवश्यक निर्णय लिने बताइएको छ । 

सरकारले कोरोना भाइरसको प्रकोप फैलिनसक्ने भन्दै त्यसको रोकथाम र नियन्त्रणका लागि चैत ११ गतेबाट जारी गरेको लकडाउन पटक पटक लम्ब्याउँदै जेठ ३२ गतेसम्म कायम गरेको छ । 

सरकारले लकडाउन मात्रै लम्ब्याउँदा आफूहरुको व्यापार व्यवसाय चौपट भएको भन्दै बुधबारदेखि निजी क्षेत्रले लकडाउन तोड्न थालेका छन् । 
काठमाण्डौको जोरपाटी, न्यूरोड लगायतका क्षेत्रमा लकडाउन तोड्दै बजार र पसल खोल्ने क्रम सुरु भइसकेको छ । 

देशका अन्य प्रमुख शहरका बजारहरु समेत धमाधम खुल्न थालेपछि सरकार लकडाउन मोडालिटी परिवर्तनको हतारोमा देखिएको हो । 

बिहीबार मात्रै काठमाण्डौका तीन जिल्लाका सीडीओहरुको बैठकले लकडाउन खुकुलो बनाउन उच्चस्तरीय समिति र सीसीएमसीलाई सिफारिस गरेको थियो ।