काठमाण्डौ । लकडाउन खुकुलो पार्दै गएका युरोपेली मुलुकहरुमा कोरोना संक्रमणको मामिला फेरि बढ्न सक्नेमा विश्व स्वास्थ्य संगठन (डब्लयूएचओ) ले चिन्ता व्यक्त गरेको छ।

लकडाउन लगाइएका प्रतिबन्धहरु खुकुलो पारेसँगै युरोपेली मुलुकहरुमा पछिल्लो एक सातामा संक्रमण मामिला बढ्न थालेको भन्दै डब्लयूएचओले चिन्ता व्यक्त गरेको हो। डब्लयूएचओले आर्मिनिया, स्विडेन, माल्डोवा र अर्थ म्यासिडोनियाजस्ता ११ युरोपेली मुलुकहरुमा पछिल्लो सातादेखि कोरोना संक्रमणको मामिला बढ्न थालेको जनाएको छ।

डब्लयूएचओका क्षेत्रीय निर्देशक डा हान्स हेनरी क्लुगका अनुसार प्रतिबन्धहरु खुकुलो पारेसँगै संक्रमणको मामिला फेरि बढ्न सक्ने भन्ने उनले यसअघि नै दिएको चेतावनी सही साबित भइरहेको छ। ‘यदि यी देशहरु सचेत नभए फेरि अवस्था भयावह हुन सक्छ’, क्लुगले भने। 

क्लुगका अनुसार युरोपेली क्षेत्रमा दैनिकजसो औसत २० हजार नयाँ मामिला देखिइरहेको र ७०० जनाको ज्यान गइरहेको छ। ‘मैले लगातार यो भाइरसले फेरि शिर उठाउन सक्ने चेतावनी दिँदै आएको छु’, उनले भने, ‘तर युरोपेली क्षेत्रका देशहरुले धमाधम प्रतिबन्धहरु खुकुलो पार्दै लगेका छन्।’ – एजेन्सी