काठमाण्डौ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको नियम उल्लंघन गरेका न्युजिल्यान्डका स्वास्थ्यमन्त्री डेबिड क्लार्कले गल्ती महसुस गर्दै प्रधानमन्त्री जैसिन्डा अर्डर्नसमक्ष राजीनामा दिने प्रस्ताव गरेका छन्। मन्त्री क्लार्कले लकडाउन उल्लंघन गरेको आफूले आफूलाई मूर्ख पनि भनेका छन्। 

विश्व महामारी कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि अहिले न्युनिल्यान्डमा लकडाउन गरिएको छ। यस्तो बेला मन्त्री क्लार्क आफ्नो परिवारका साथ रमाइलो गर्न कारमा समुद्री किनारमा गएका थिए। ‘आफ्नै सरकारले बनाएको नियम उल्लंघन गर्दै म घरबाट २० किलोमिटर टाढा समुद्रीकिनारमा परिवारका साथ कारमा गएँ’, उनले भने, ‘त्यहाँ पुगेपछि मैले गरेको गल्तीको महसुस भयो।’

मन्त्री क्लार्कले आफूबाट भएको भूलको प्रतिफल भोग्नुपर्ने भन्दै प्रधानमन्त्री अर्डर्नलाई आफूले पदबाट राजीनामा दिने प्रस्ताव गरेका छन्। तर प्रधानमन्त्री अर्डर्नले अहिलेको यो महामारी अवस्थामा राजीनामा नदिन सल्लाह दिएका छन्। 

समाचार स्रोतका अनुसार मन्त्री क्लार्कले लकडाउनको नियम उल्लंघन गरेपछि जनताबाट निकै आलोचना खेप्न पर्यो। जसका कारण उनी राजीनामा दिने मनस्थितिमा पुगेका हुन्। तर प्रधानमन्त्री अर्डर्नले उनको पद जोगाइदिएका छन्।– एजेन्सी