काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेडको सतप्रतिशत हकप्रद पाउन चाहना भए आजै गएर यो बैंकको सेयर खरीद गरिहाल्नुुहोस् । कारण, यो बैंकले सतप्रतिशत हकप्रदका लागि चैत १८ गते(भोलि)लाई बुक क्लोजको मिति तोकेको छ । यसको अर्थ चैत १७ गते(आज)सम्म यो बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र सतप्रतिशत हकप्रदका लागि आवेदन दिनसक्नेछन् । 

लक्ष्मी बैंकले १ सय रुपैयाँ अंकित मूल्यको कुल ३ अर्ब १५ करोड रुपैयाँको हकप्रद निश्कासन गर्न लागेको हो । यो बैंकको हकप्रद निश्कासन तथा व्यवस्थापनमा सिद्धार्थ क्यापिटल लिमीटेडले बिक्री प्रबन्धकको काम गर्नेछ । यो बैंकलाई धितोपत्र बोर्डले चैत १ गते हकप्रद निश्कासनको स्वीकृति दिएको थियो । 

लक्ष्मी बैंकले हकप्रद भरेकाहरुले समेत पाउने गरी १८.२९ प्रतिशत बोनस सेयरको प्रस्ताव समेत गरेको छ । यसको अर्थ सतप्रतिशत हकप्रद पाएलगत्तै १८.२९ प्रतिशत बोनस सेयर समेत प्राप्त हुनेछ । १०० प्रतिशत हकप्रद र १८.२९ प्रतिशत बोनस सेयर निश्कासनपछि यो बैंकको चुक्तापूँजी ७ अर्ब ४७ करोडको उचाईमा पुुग्नेछ । 

यो बैंकको बुधबारको मितिमा अन्तिम सेयर कारोबार मूल्य प्रति कित्ता ७ सय ८० रुपैयाँ रहेको छ। 

यसैगरी, बिहीबार नै सानिमा बैंकको ३० प्रतिशत हकप्रद सुरक्षित गर्ने अन्तिम दिन समेत हो । चैत १७ गतेसम्म यो बैंकको सेयर खरीद गरेका वा नामसारी गरेकाहरुले हकप्रद भर्न सक्नेछन् । सानिमा बैंकले १ सय रुपैयाँ अंकित मूल्यको कुल १ अर्ब ५९ करोड बराबरको हकप्रद निश्कासन गर्न लागेको हो । यो बैंकलाई फागुन ३० गते हकप्रद निश्कासनको स्वीकृति प्राप्त भएको थियो । यसको हकप्रद निश्कासन तथा व्यवस्थापनमा सीबीआइएल क्यापिटल लिमीटेडले बिक्री प्रबन्धकको काम गर्नेछ । 

यो बैंकको चुक्तापूँजी ५ अर्ब ३० करोड रुपैयाँ रहेको छ । ३० प्रतिशत हकप्रद निश्कासनपछि चुक्तापूँजी ६ अर्ब ९० करोड रुपैयाँको उचाईमा पुुग्नेछ । बुधबारको दिन यो बैंकको अन्तिम सेयर बिक्री मूल्य प्रति कित्ता ५ सय ६० रुपैयाँ कायम भएको थियो ।