काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेडले आगामी मंसिर २८ गते बिहीबारका दिन १७ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । 

बैंकले काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा साधारणसभा आह्वान गरेको हो ।

साधारणसभामा ०.५३ प्रतिशत नगद लाभांश, १० प्रतिशत बोनस सेयर वितरणको निर्णय विशेष प्रस्तावको रुपमा पेश हुने बताइएको छ । 

अध्यक्ष, संचालक लगायतको भत्ता वृद्धि, २०७४ असार मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७३/७४ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचिहरु तथा एकीकृत वित्तीय विवरण छलफल गरी स्वीकृत गर्ने लगायतका एजेण्डाा समेत पेश हुने बताइएको छ । 

लक्ष्मी बैंक र अन्य कुनै उपयुक्त बैंक वा बित्तीय संस्था एकआपसमा गाभ्ने, गाभिने तथा बैंकले अन्य कुनै संस्थालाई प्राप्ति गर्ने सम्बन्धमा आवश्यक सबै प्रक्रिया पूरा गर्न संचालक समितिलाई दिइएको अख्तियारीलाई निरन्तरता दिने विशेष प्रस्ताव समेत साधारणसभाले पारित गर्नेछ ।

बैंकले साधारणसभा प्रयोजनका लागि मंसिर ११ गतेलाई बुक क्लोजको मिति तोकेको छ । यसको अर्थ त्यसभन्दा अघिल्लो दिनसम्म यो बैंकको सेयर खरीद गर्नेहरुले साधारणसभामा सहभागी हुन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।