काठमाण्डौ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा लक्ष्मी लघुवित्त बित्तीय संस्थाको खूद नाफा घटेको छ ।

तरलता अभाव र त्यसबाट उत्पन्न  हुनसक्ने संकट टार्न भन्दै ब्याजदरमा भएको अस्वस्थ्य प्रतिस्पर्धाको असर अधिकांश लघुवित्त संस्थाहरुको वित्तीय विवरणमा देखिइरहेको छ । यही क्रममा लक्ष्मीको नाफा समेत ७ करोड ८३ लाखबाट घटेर ६ करोड ६६ लाखमा सीमित  बन्न पुगेको हो ।

अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासमा १७ करोड ६६ लाख रुपैयाँ रहेको खूद ब्याज आम्दानी यो वर्ष १७ करोड ६० लाखमा सीमित भएको छ । 

समीक्षा अवधिमा लक्ष्मी लघुवित्तले १ अर्ब ५६ करोड सापटी लिई ८६ करोड ८० लाख निक्षेप संकलन गरी २ अर्ब ५९ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यो कम्पनीले १ अर्ब २७ करोड सापटी लिई २ अर्ब १ करोड कर्जा परिचालन गरेको थियो ।

अघिल्लो वर्ष १२ करोड १६ लाख रहेको संचालन मुनाफा घटेर यो वर्ष १० करोड २४ लाखमा सीमित  भएको छ ।

०.४१ प्रतिशत रहेको खराबकर्जा बढेर १.२१ प्रतिशत पुगेको छ । समीक्षा अवधिमा लक्ष्मी लघुवित्तको वार्षिकीकृत प्रतिसेयर  आम्दानी ३६.६९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७३.६१ रुपैयाँ र मूल्य आम्दानी अनुपात  ३०.५२ गुणा कायम भएको छ ।

लक्ष्मी लघुवित्तले १४ करोडमा सीमित रिजर्बकोषलाई केही मजबुत बनाई १७ करोड ८१ लाखको उचाईमा पुर्याएको छ ।