काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेडले आगामी बैशाख ३ गतेदेखि १ बराबर १ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने भएको छ । 

यो बैंकले चुक्तापूँजी वृद्धिको उद्देश्यले आफ्ना सेयरधनीका लागि सतप्रतिशत हकप्रद निश्कासन गर्न लागेको हो । 

बैशाख ३ गतेदेखि निश्कासन हुने हकप्रदमा जेठ ७ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । यो बैंकले १ सय रुपैयाँ अंकित मूूल्यको कुल ३ अर्ब १५ करोड ९० लाख ३० हजार ३ सय रुपैयाँको हकप्रद निश्कासन गर्न लागेको हो । 

हकप्रदका लागि चैत १८ गते(भोलि)लाई बुक क्लोजको मिति तोकिएको छ । यसको अर्थ बिहीबार(आज)सम्म लक्ष्मी बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले हकप्रदका लागि आवेदन दिन सक्नेछन् । 

सिद्धार्थ क्यापिटल लिमीटेडले हकप्रद निश्कासन तथा व्यवस्थापनमा बिक्री प्रबन्धकको काम गर्नेछ । नक्सालस्थित सिद्धार्थ क्यापिटलको मुख्य कार्यालय र लक्ष्मी बैंकका सबै शाखा कार्यालयहरुबाट सेयरधनीले हकप्रदका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ । 

हाल यो बैंकको चुक्तापूँजी ३ अर्ब १५ करोड रुपैयाँ रहेको छ । हकप्रदको व्यवस्थापनपछि चुक्तापूँजी ६ अर्ब ३१ करोड पुुग्नेछ । यो बैंकले हकप्रद भरेकाहरुले समेत पाउने गरी १८.२९ प्रतिशत बोनस सेयर समेत प्रस्ताव गरेको छ । हकप्रदपछि बोनस सेयर वितरण हुनेछ । बोनस सेयर समेत वितरण भइसकेपछि चुक्तापूँजी ७ अर्ब ४७ करोडको उचाईमा पुुग्नेछ ।