काठमाण्डौ । लगातार उच्च मूल्यको रेकर्ड बनाइरहेको सुन भाउ यो साता कारोबारको तेस्रो दिन मंगलबार घटेको छ ।

सुनको भाउ सोमबारको तुलनामा तोलामा रु. ५०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला छापावाल रु. ७५ हजार ५०० र तेजाबी रु. ७५ हजार २०० कायम भएको छ । हिजो सोमबार सुनको भाउ प्रतितोला छापावाल रु. ७६ हजार र तेजाबी रु. ७५ हजार ७०० रुपैयाँ पुगेको छ । सोमबारको भाउ नेपाली सुन बजारकै इतिहासमा अहिलेसम्मको सर्वाधिक हो ।

यो साता कारोबारको पहिलो दिन आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा रु ५०० ले बढेको थियो । त्यस्तै आइतबार गत शुक्रबारको तुलनामा एकैपटक तोलामा रु १ हजारले बढेको थियो । यसैगरी गत शुक्रबार पनि अघिल्लो दिनको तुलनामा सुन तोलामा एकैपटक रु. १ हजारले बढेको थियो ।

खाडीमा अमेरिकाका कारण तनाव बढेपछि यसले सुनको मूल्य बढाउन टेवा पुगेको विज्ञहरु बताउँछन् ।

खाडीको तनावले अन्तराष्ट्रिय बजारमै पनि सुनको मूल्य आकाशिएको छ । हाल अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रति औंस १५७४ डलर भन्दा माथि पुगिसकेको छ । त्यही मूल्यको असर नेपाली बजारमा समेत परेको हो।

उता चाँदीको भाउ पनि लगातार बढिरहेकोमा मंगलबार तोलामा २० रुपैयाँले गिरावट आएको छ । मंगलबार चाँदी प्रतितोला ९०० रुपैयाँ कायम भएको छ । जब कि आइतबार चाँदी प्रतितोला ९२० रुपैयाँमा कारोबार भएको थियो ।

सुनचाँदीको भाउ बढेसँगै बजारमा ७५ प्रतिशतले कारोबार घटेको सुनचाँदी व्यवसायीहरु बताउँछन् । बजारमा अहिले खरिद गर्नेभन्दा पनि बेच्ने ग्राहकको संख्या बढिरहेको उनीहरु सुनाउँछन् ।