काठमाण्डौ । सेयर लगानीकर्ता संघ नेपालले नेपाल इन्भेष्टमेन्ट बैंकले नेप्सेमार्फत प्रवाह गरेको पहिलो सूचना अनुसारकै निर्णय कार्यान्वयन हुनुपर्ने माग गरेको छ । संघले एक विज्ञप्ति जारी गर्दै नेपाल स्टक एक्सचेञ्जको भूमिकामाथि समेत प्रश्न उठाउँदै यस्तो माग गरेको हो ।

‘पहिलो सूचनाको खण्डन गर्दै दोश्रो सूचना जारी गर्ने सम्बन्धित संस्थालाई लिखित स्पष्टीकरण नै नलिई फेरि जस्ताको तस्तै अर्को सूचना प्रवाह गर्नु न्यायोचित देखिएन ।’ 

संघका उपाध्यक्ष ताराप्रसाद फूल्लेलले एक विज्ञप्ति जारी गर्दै लगानीकर्ताले हालसम्म नेप्सेको वेबसाइटमा प्रकाशित सूचनालाई आधिकारिक मान्दै आएका उल्लेख गर्दै प्रश्न गरेका छन्–‘नेप्सेजस्तो जिम्मेवार निकायले सो सूचनाको महत्व र त्यसले सेयरबजारमा पुर्याउनसक्ने क्षतितर्फ कुनै मूल्यांकन नै नगरी जसले जे सूचना जारी गर्यो, त्यही सूचना जारी गर्ने हो कि सो सूचनाको सन्दर्भमा पुुष्ट्याई गरेर मात्र लगानीकर्ताहरुलाई वेबसाइटमार्फत जानकारी दिने हो ?’

फूल्लेलले इन्भेष्टमेन्ट बैंकको गलत सूचनाबाट पुुगेको अपुरणीय क्षतिप्रति बजार संचालक नेप्सेले जिम्मेवारी लिनुपर्ने माग गरेका छन् । ‘पहिलो सूचनाको खण्डन गर्दै दोश्रो सूचना जारी गर्ने सम्बन्धित संस्थालाई लिखित स्पष्टीकरण नै नलिई फेरि जस्ताको तस्तै अर्को सूचना प्रवाह गर्नु न्यायोचित देखिएन ।’ विज्ञप्तिमा भनिएको छ–‘भोलि फेरि सूचिकृत कम्पनीहरुले यस्तै सूचना जारी गर्दा हामी लगानीकर्ताहरुले के आधारमा सूचनालाई विश्वास गर्ने ? के नेपालको पूँजीबजारमा नियामक निकायहरुको कुनै भूमिका छैन ?’

संघले इन्भेष्टमेन्ट बैंकले प्रथम पटक प्रकाशित गरेको सूचनामा उल्लेख भए अनुसार लगानीकर्ताले २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश नै पाउनुपर्ने माग गरेको छ । यस्तो प्रवृतिको निरुत्साहनका लागि धितोपत्र बोर्ड, नेप्से, नेपाल राष्टबैंक, बिमा समिति लगायतका नियामकहरुले पहलकदमी लिनुपर्नेमा जोड दिइएको छ । 

नेपाल इन्भेष्टमेन्ट बैंकले टाइप मिस्टेक भन्दै पहिलो सूचनामार्फत बाहिरिएको २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांशको निर्णयलाई सच्याउँदै २५ प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस सेयर दिने चाहि निर्णय भएको दाबी गरेको थियो । यो प्रकरणपछि बैंकको छवि धूमिल बनेको छ भने बैंकको गलत निर्णयलाई साथ दिने नेप्से नेतृत्व समेत विवादमा तानिएको छ।

धितोपत्र बोर्डले बैंकलाई स्पष्टीकरण सोधिसकेको छ, तर नेप्से पनि यो प्रकरणमा अझै पनि चूप बसेको छ ।