काठमाण्डौ । केही दिनदेखि निरन्तर उकालो लागिरहेको नेप्से इन्डेक्स आज मंगलबार पनि झिनो अंकले वृद्धि भयो भने कारोबार रकम २ अर्ब नाघेको छ।

यो दिन कारोबारको सुरुआतमै ८ वटा बैंकले उत्कृष्ट प्रदर्शन गरेकोमा अन्तिम समयमा भने ५ वटा बैंकका लगानीकर्ताले मात्र कुस्त कमाउन सफल भए।

तीन वर्षभन्दा बढी बियरिस ट्रेन्डमा रहेको बजार अब भने त्यो चक्रलाई पार गरी बुलिस ट्रेन्ड उक्लिएको आमलगानीकर्ताको मानसपटलमा अनुभूत हुँदा त्यसको सकारात्मक असर नेप्से इन्डेक्समा परिरहेको छ।

नेपाल राष्ट्र बैंकको केही नियामकीय व्यवस्थाका कारण बैंकहरुको समग्र कर्जा प्रवाह दरमा संकुचन आए पनि सेयर कर्जा भने बढ्दै गएको छ। योसँगै बैंक ब्याजदरमा भइरहेको कटौतीले पनि सेयर लगानीकर्ताहरुलाई कर्जा लिएरै भए पनि दोस्रो बजारमा लगानी गर्न हौसाइरहेको ब्रोकरहरु बताउँछन्।

बैंकहरु ब्रोकर हाउसमै गएर सेयर धितो कर्जाको सेवा लिइदिन आग्रह गर्दै पुगेपछि लगानीकर्तामा दोस्रो बजारमा लगानी गर्ने क्षमतामा समेत व्यापक वृद्धि भएको उनीहरु बताउँछन्।

अहिलेको बजारमा नयाँ र पुराना लगानीकर्ताहरुको लोभलाग्दो आकर्षण देख्न सकिने ब्रोकर बताउँछन्।

आजको बजारमा केही दिनदेखि निरन्तर सेयरमूल्यमा भएको वृद्धिबाट नाफा सुरक्षित गर्न लगानीकर्ताले ध्यान दिँदा नेप्से इन्डेक्समा १.७७ अंकले वृद्धि भएर १४००.०१ को विन्दुमा पुग्यो। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स १.०९ अंकको वृद्धिसँगै २९४.९५ को विन्दुमा पुगेको छ। 

आजको दिन नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ५ वटामा हरियाली छायो भने ७ वटामा रातो पोतियो।

उत्पादन तथा प्रशोधन समूहमा ३०.७५ अंकको बढोत्तरी आएको यो दिन विकास बैंक समूहमा १४.५५ अंकले वृद्धि भयो। बैंकिङ समूहमा ७.५३ अंक, व्यापार समूहमा २.९५ अंक र म्युचुअल फन्ड समूहमा ०.२ अंकले वृद्धि भयो। 

यस दिन जीवन बिमा समूहमा सबैभन्दा बढी ४५.९३ अंकको गिरावट देखियो। होटेल्स् समूहमा ३३.२६ अंक, जलविद्युत् समूहमा १७.६२ अंक, वित्त समूहमा ५.८५ अंक, निर्जीवन बिमा समूहमा ११.१५ अंक, अन्य समूहमा २.३५ अंक र लघुवित्त समूहमा १३.१ अंकले घट्यो।  

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृत १८१ कम्पनीका ५४ लाख ६८ हजार ४८३ कित्ता सेयर २ अर्ब १२ करोड ५९ लाख ७७ हजार ३४ रुपैयाँमा कारोबार भयो। 

एनआईसी एसिया बैंकले १० करोड ६५ लाख रुपैयाँको कारोबार गरेको यो दिन एनएमबी बैंकले ९ करोड ५९ लाख रुपैयाँ बढीको कारोबार गर्यो। 

हिमालयन डिस्टिलरीको ९ करोड १४ लाख रुपैयाँ, शिवम् सिमेन्टको ७ करोड ५६ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ९५ लाख रुपैयाँ, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ६ करोड ६१ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको ६ करोड ११ लाख रुपैयाँ, नेपाल बैंकको ४ करोड ५० लाख रुपैयाँ, प्रभु बैंकको ४ करोड ११ लाख रुपैयाँ र नेको इन्स्योरेन्सको ४ करोड ७ लाख रुपैयाँबराबरको कारोबार भयो। 

धेरै कमाउने र गुमाउनेहरु

यो दिन आजबाट कारोबार फुकुवा भएको कालिका लघुवित्तका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरमूल्यमा झन्डै १० प्रतिशतको हाराहारीमा वृद्धि भएर सकारात्मक सर्किट लाग्यो। 

यसैगरी घलेम्दी हाइड्रोपावरको सेयरमूल्यमा पनि १० प्रतिशतको हाराहारीमा वृद्धि भएको छ।

उता लक्ष्मी लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ६ प्रतिशतको हाराहारीमा गिरावट आयो।