काठमाण्डौ । यो साता कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक अत्यन्तै झिनो अंकले बढेको छ।

हिजोको तुलनामा नेप्से परिसूचक आज १.५१ अंकले बढ्दै १४२५.३२ को विन्दुमा पुगेको छ। तर, कारोबार रकम भने हिजोको तुलनामा घटेर १ अर्ब रुपैयाँमुनि खुम्चिन पुगेको छ। 

उपत्यकामा भारी मात्रामा कोरोना संक्रमित बढेको तथ्यांक आउनु र टोलहरु धमाधम सिल हुँदै जाँदा लगानीकर्ताहरुमा त्यसैको नकारात्मक मनोवैज्ञानिक त्रासका कारणसमेत नेप्से परिसूचकमा उत्साह आउन नसकेको ब्रोकरहरुको भनाइ छ। एक ब्रोकर स्रोतका अनुसार प्लेज (धितो) मा रहेको सेयरहरु धमाधम फुकुवा भई बिक्री गर्ने बाक्लो जमातले समेत मागभन्दा आपूर्ति बढाइरहेको छ। 

कोरोनाभाइरस संक्रमणको खतरा थप वृद्धि हुँदै जाँदा दैनिक जीवनयापनको सहजताका लागि जोहो गर्नमै केन्द्रित हुँदा लगानीकर्ताहरु सेयर खरिद गर्न उत्साहित नभइरहेको ब्रोकरहरुको तर्क छ। बजारमा चौतर्फी माहौल रहँदारहँदै पनि धितोपत्र बजारमा रौनक र उत्साह नआउनमा कोरोना संक्रमणको संख्या दिनानुदिन काठमाण्डौ उपत्यकामा बढ्दै गइरहेकाले लगानीकर्ताको मनोबललाई प्रभावित पारेको विश्लेषकहरुको ठहर छ।

गत असार १ गते सरकारले लकडाउन खुला गरेपछि काठमाण्डौ उपत्यकामा कोरोनाभाइरसको जोखिम बढिरहेको र संक्रमणको संख्या डढेलोजस्तै सल्किए उपत्यकामा भयावह अवस्था सिर्जना हुने विज्ञहरुले चेतावनी दिइरहेका छन्। संक्रमण फैलिएपछि थप भयावह स्थिति सिर्जना हुने भय र त्रासकै कारणसमेत लगानीकर्ताहरु सेयर लगानीमा पर्ख र हेरकै रणनीतिमा रहेको विश्लेषकहरु दाबी गर्छन्।

आज नेप्से उपसमूहमा रहेका १२ वटा समूहमध्ये ६ वटामा हरियाली छायो भने ६ वटामा रातो पोतियो।

यो दिन निर्जीवन बीमा समूहमा सबैभन्दा बढी ३९.०८ अंकको बढोत्तरी भयो। यस्तै बैंकिङ समूहमा ३.८१ अंक, होटेल्स् समूहमा ०.७४ अंक, उत्पादन तथा प्रशोधन समूहमा ०.३१ अंक, जीवन बीमा समूहमा ६.७७ अंक र म्युचुअल फन्ड समूहमा ०.०९ अंकको बढोत्तरी देखियो। 

आज व्यापार समूहमा ४.९३ अंक, विकास बैंक समूहमा १०.८३ अंक, जलविद्युत् समूहमा ३.३४ अंक, वित्त समूहमा ४.४२ अंक, अन्य समूहमा १.५१ अंक र लघुवित्त समूहमा ६.७४ अंकको गिरावट आयो।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये १८८ कम्पनीका ३० लाख ३२ हजार ३११ कित्ता सेयर ९५ करोड १९ लाख ६० हजार २०८ रुपैयाँमा कारोबार भयो।

यो दिन युनाइटेड इन्स्योरेन्सको सबैभन्दा बढी ६ करोड २० लाख रुपैयाँ बढीको कारोबारभयो। 

यस्तै नेपाल पुनर्बीमा कम्पनीको ६ करोड ३ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ७८ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ३ करोड ८७ लाख रुपैयाँ, अजोड इन्स्योरेन्सको ३ करोड २७ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सको ३ करोड ६ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको ३ करोड १ लाख रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सको २ करोड ६० लाख रुपैयाँ, नेपाल बैंकको २ करोड ५५ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको २ करोड ५२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने, धेरै गुमाउने

आज साधना लघुवित्तका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लाग्यो। 
यसैगरी घलेम्दी हाइड्रोको सेयरमूल्य पनि ९ प्रतिशत बढीले बढेको छ। 

यो दिन युनियन हाइड्रापावरका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ६ प्रतिशत बढीको गिरावट आयो।