काठमाण्डौ । यो साता कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक झिनो अंकको गिरवाटका साथ बजार बन्द भएको छ। आज कारोबार रकम पनि घटेर पौने ३ अर्ब रुपैयाँको हाराहारीमा सीमित बनेको छ।

आज नेप्से परिसूचक ६.१२ अंकको गिरावटका साथ १५६९.०६ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.३८ अंकले घट्दै ३१२.२४ को विन्दुमा खुम्चिएको छ।

आज अधिकांश कम्पनीका सेयरमूल्यमा गिरावट देखिएको छ। केही समययता निरन्तर उछाल आइरहेका कम्पनीहरुका सेयरमूल्यमा नाफा सुरक्षित गर्ने हतारोसँगै बजार करेक्सन मुडमा गएको विश्लेषकहरुको भनाइ छ। 

पछिल्लो समय नेप्सेमा सूचीकृत विभिन्न सेक्टरहरुमा हराभरा आउँदा बजार वृद्धिको संकेत भएको दाबी गर्दै विश्लेषकहरुले अल्पकालीन लगानीकर्ता हावी भई नाफा सुरक्षित गर्दा बजारमा करेक्सन आएको तर्क राखेका छन्। 

आज नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये ४३ कम्पनीका सेयरमूल्यमात्र बढ्यो भने ११४ कम्पनीका सेयरमूल्यम गिरावट आयो। यसैगरी १४ कम्पनीका सेयरमूल्य स्थिर रहेको थियो।

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये एउटामात्र हरियाली छाएको छ भने बाँकी ११ वटामा रातो पोतिएको छ।

यो दिन सबैभन्दा धेरै जीवन बीमा समूहमा ६७.८५ अंकको गिरावट आएको छ। निर्जीवन बीमा समूहमा ५४.९८ अंकको गिरावट आएको यो दिन बैंकिङ समूह ४.३२ अंक, व्यापार समूह १०.९९ अंक, होटेल्स् समूह ३२.६१ अंक, विकास बैंक समूह ११.५ अंक, जलविद्युत् समूह ५.८८ अंक, वित्त समूह ९.४३ अंक, अन्य समूह १.४३ अंक, लघुवित्त समूह ७.३८ अंक र म्युचुअल फन्ड समूह ०.११ अंकले घटेको छ। 

आज उत्पादन तथा प्रशोधन समूहमा मात्र चमक देखियो। यो समूहमा १२.२३ अंकको बढोत्तरी आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये १९५ कम्पनीका ८५ लाख ६५ हजार ७८ कित्ता सेयर २ अर्ब ६३ करोड ७३ लाख ७६ हजार २१६ रुपैयाँमा कारोबार भएको छ।

आज नेपाल बैंकको सर्वाधिक २१ करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको १४ करोड ९० लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन रिलायन्स लाइफ इन्स्योरेन्सको १२ करोड ९८ लाख रुपैयाँ, छिमेक लघुवित्तको ७ करोड १९ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको ६ करोड ५३ लाख रुपैयाँ, बैंक अफ काठमाण्डूको ५ करोड ६० लाख रुपैयाँ, नबिल बैंकको ५ करोड ४३ लाख रुपैयाँ, सिभिल बैंकको ५ करोड २५ लाख रुपैयाँ, अरुण काबेलीको ५ करोड २१ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ९९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज युनाइटेड फाइनान्सका सेयरधनीहरुले उच्च कमाए। यो कम्पनीको सेयरमूल्यमा आज १० प्रतिशतको बढोत्तरी भएर पोजेटिभ सर्किट नै लाग्यो। 

यो दिन लिवर्टी इनर्जी, राइराङ हाइड्रोपावर र घलेम्दी हाइड्रोका सेयरधनीहरुले धेरै गुमाए। लिवर्टी इनर्जीको सेयरमूल्यमा १० प्रतिशत र राइराङ हाइड्रापावर र घलेम्दी हाइड्रोका सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएर नेगेटिभ सर्किट नै लागेको छ।