काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार बजारमा सर्किट ब्रेकर लाग्यो र १५ मिनेट बन्द भएर खुलेको बजार पुनः ६४.५५ अंकले घटेर बजार बन्द भयो । दैनिकजसो पूँजीबजारमा ठूलो पहिरो जान थालेपछि लगानीकर्ताहरुको मनोबल गिरेको छ भने त्रासका बीच आगामी दिनमा साधारण लगानीकर्ताले सेयरमा लगानी गर्ने अवस्था देखिदैन । आखिर बजारमा के भइरहेको छ यस्तो ? बियरिस बाटो समातेको पूँजीबजार थामिएला कि नथामिएला ? कि बजार अझै घटेर १ हजारको हाराहारीमा त पुुग्ने होइन ? कस–कसको कारण बजारमा यस्तो अवस्था आइरहेको छ ? आम लगानीकर्ताको मनमा अहिले यस्तै चासोहरु उब्जिरहेका छन् । 

सेयर विश्लेषक अञ्जनराज पौड्यालको भनाईमा अघिल्लो हप्तादेखि नै निरन्तर घटेको बजारका लगानीकर्तामा त्रासको अवस्था देखिएको छ । ‘लगानीकर्ताको मनोबल आइतबारको पहिरोले थप खस्किएको छ ।’ उनले भने–‘घाटै खाएर पनि बजार अझ तल झर्ने त्रासले लगानीकर्ताले आफूसँग भएको सेयर बिक्री गरिरहेका छन् । कतिपयले थोरै नाफा आए पनि बिक्रीको हतारो देखाएका देखिएको छ ।’ 

धेरै लगानीकर्तामा बजार लामो समयसम्म बियरिस ट्रेन्डमा जाने र अझै घटेर लगानी डूूब्नसक्ने आशंका पैदा भएको उनको भनाई छ । तर कारोबार रकम मेन्टेन भइरहनु र घट्दो बजारमै पनि खरीद गर्ने इच्छाशक्ति तीव्र देखिनुुले आगामी दिन थप बजार घट्ला भनेर विश्लेषण गर्नु हतारो हुने उनको भनाई छ । ‘बजारको सूचकसँगै कारोबार रकम पनि घट्न थाल्यो भने चाहि बजार अझै तल झर्ने संभावना हुन्छ ।’ उनले भने–‘सूचक मात्र घटेर कारोबार मेन्टेन भयो भने घट्ने क्रम धेरै दिन रहँदैन भनेर बुुझ्नुपर्छ ।’ 

पौड्यालको भनाईमा संविधान संसोधनको बिषयमा देखिएको अन्यौल, विपक्षीले सडकसम्म तताउने भनेर चेतावनी दिएपछि कचल्टिएको राजनीतिको प्रभाव समेत बजारमा परेको हो । ‘लगानीकर्ताको घट्दो मनोबललाई थप घटाउने भूमिका राजनीतिक अन्यौलले पनि गरेको देखिन्छ ।’ उनले भने –‘ब्याजदरको प्रभाव समेत परेको छ । मार्जिन कलको प्रेसर ठूला लगानीकर्तामा रहेको छ । यसले समेत सेयर बिक्रीको चाप बढाइदिएको छ ।’ 

उनको विश्लेषणमा भारु १ हजार र ५ सयको पुरानो नोट कारोबारमा लागेको प्रतिबन्धको असर समेत नेपाली पूँजीबजारमा परेको छ । केही ठूला लगानीकर्ताले आफ्नो अन्य व्यवसाय भारु प्रतिबन्धपछि जोखिममा परेको भन्दै सेयर बिक्री गर्न थालेपछि यसले समेत बजारलाई घटाएको उनको दाबी छ । बैंक तथा बित्तीय संस्थाका ठूला लगानीकर्ताहरुले हकप्रदका कारण धेरै पैसा चाहिने हुँदा सेयर बिक्री गर्ने क्रम समेत बढेर गएपछि बजारमा थप पहिरो गएको उनको भनाई छ । ‘हकप्रद भर्ने पैसाको जोहो सेयर बेचेर गर्ने र घट्दो बजारलाई छाडेर अन्यत्रै लगानी गर्ने प्रवृति समेत देखिएको छ ।’ उनले भन–‘सबैभन्दा धेरै बजारमा फैलिएको नकारात्मक कुराले असर गरेको छ ।’ 

उनको अनुमानमा लामो समयसम्म बजार घट्दैन । के हो त कारण ? ‘बजारमा अझै क्रय क्षमता छ ।’ उनले कारण पेश गर्दै भने–‘किन्नेहरुले किन्न छाडेका छैनन् । क्रेताको उपस्थिति देखिएन भने मात्र बजार अझै तल झर्ने हो ।’ घट्दो बजारमा समेत धेरै राम्रा कम्पनीले राम्रै कारोबार गरिरहेका उल्लेख गर्दै उनले भने–‘अहिले नै आत्तिहाल्नुपर्ने अवस्था छैन ।’ 

अनुुभवी लगानीकर्ता तथा सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले नियामक नेपाल धितोपत्र बोर्डका अधिकारीहरुको शंकास्पद भूमिकाले बजार घटिरहेको दाबी गरे । 

‘धितोपत्र बोर्डको भूमिका शंकास्पद छ ।’ उनले भने–‘अध्यक्ष नै शंकास्पद भूमिकामा रहँदै आएका छन् । कानून छैन, नियम छैन, कुर्सीमा बसेर जे गर्न पनि हुने रहेछ ।’

उनले घट्दो बजारमा सेयर ब्रोकरहरुले समेत गलत भूमिका खेलिरहेका र उनीहरुले लगानीकर्तालाई त्रास र दवाबमा राखेका आरोप लगाए । ‘बजार यसरी दैनिकजसो घट्नुको एउटै कारण तीव्र चलखेल हो ।’ उनले भने–‘अहिले लगानीकर्ताले ब्रोकरकै हातबाट किन्ने र बिक्री गर्ने काम गर्नुपर्छ । ब्रोकरको भनाईमा लागेका कारण समेत यस्तो भइरहेको छ ।’ ब्रोकरको मूूडमा लगानीकर्ताको लगानीको सुरक्षाको सवाल अड्किने सिस्टम पनि अहिलेको एक कारक रहेको उनको दाबी छ । ‘त्यही भएर हामीले अनलाइन कारोबार सुरु गर्नुुपर्छ भनेर माग गरिरहेका छौ ।’ उनले भन–‘अनलाइन सेवा भएपछि व्यक्तिगत वा संस्थागत रुपमा बजारमा कसैले चलखेल गर्ने मौका नै पाउँदैन ।’ 

उनको भनाईमा साना भन्दा ठूला लगानीकर्ताको पहुँच बजार, सम्बद्ध कम्पनी र ब्रोकरसम्म रहेकोले उनीहरुको योजनामा बजारको भविष्य निर्धारण हुने दुुर्भाग्यपूर्ण प्रणाली नेपाली पूँजीबजारको रहनु नै आजको अवस्थाको मुख्य कारण हो । 

सामान्य लगानीकर्ताले आफूसँग भएको सेयर बिक्री गर्न खोज्दा भाउ अझै बढ्दैछ भनेर नदिने र खरीद गर्न खोज्दा पनि घट्दैछ भनेर नदिने समूह पछिल्लो समय बजारमा सक्रिय भएका कारण पनि दिनहुँजसो पहिरो गइरहेको उनको विश्लेषण छ । अहिले बजारको चलखेलले साना लगानीकर्ता डूूब्ने अवस्था आएको भन्दै सम्बद्ध निकायलाई गम्भीर बनिदिन उनले आग्रह गरे । ‘सेयर बजारलाई जूवाको खाल जस्तो बनाउनुुभएन ।’ उनले थपे–‘आपूर्ति र मागलाई सन्तुलित गर्ने प्रणालीको विकास हुनुपर्छ । मै हुँ भन्ने ठूला लगानीकर्ताको एकाधिकार तोडिनुपर्छ ।’