काठमाण्डौ । आम लगानीकर्ताहरुमा बजारलाई पूर्ण स्वचालित प्रणालीमा लैजान, बैंकहरुलाई ब्रोकर लाइसेन्स दिलाउन, ब्रोकरहरुलाई शाखा बिस्तार गर्न दिन तथा सार्वजनिक निश्कासन, हकप्रद, बोनस सेयरको अस्पष्ट नीति लगायतका बिषयमा रहेका अन्यौलहरु हटाउने प्रयास थालिएको छ । 

सबै लगानीकर्ताहरुले नियामक निकायका जिम्मेवार अधिकारीहरुसँग आफ्ना कुरा र अस्पष्टता खुलेर राख्न सकून् भन्ने उद्देश्यले विभिन्न ६ बुँदे माग राखी आन्दोलनमा रहेको सेयर लगानीकर्ता संघले यस्तो अवसरका लागि पहल थालेको हो । 

आफ्ना मागहरु लेखिएका प्लेकार्डसहित पहिलो चरणमा नेपाल स्टक एक्सचेञ्ज र नेपाल धितोपत्र बोर्डमा प्रदर्शनसँगै ज्ञापनपत्र बुुझाएको सेयर लगानीकर्ता संघले सबै नियामक निकायका अधिकारीहरुलाई एउटै मञ्चमा राखेर सेयर लगानीकर्ताहरुसँग अन्तरक्रिया गराउन लागेको हो । 
यो कार्यक्रमलाई संघले आन्दोलनको ‘दोश्रो चरण’ भनेको छ । संघका अध्यक्ष उत्तम अर्यालले पहिलो चरणको आन्दोलनको अल्टिमेटम मंगलबार सकिने र त्यसपछि दोश्रो चरणको आन्दोलन सुरु हुने बताए । ‘सो क्रममा हामी चाँडै नेप्से, धितोपत्र बोर्ड, बिमा समिति, नेपाल राष्ट्रबैंकका जिम्मेवार अधिकारीहरुलाई एउटै मञ्चमा राखेर अन्तरक्रिया कार्यक्रम गर्न खोजिरहेका छौ ।’ उत्तम अर्यालले भने –‘दोश्रो चरणको कार्यक्रम दवाबमूलक र डिप्लोम्याटिक शैलीको हुनेछ ।’ 

सबै नियामकलाई एउटै मञ्चमा राखेर सेयर लगानीकर्ताहरुमा भएको अन्यौलहरु हटाउने, आफ्ना मागहरुको बिषयमा भइरहेको कामहरुको बिषयमा अपडेट हुने र लगानीकर्ताका जायज मागप्रति सबै निकायको सार्वजनिक प्रतिबद्धता माग्ने संघको योजना छ । 

‘हामी यो अवधिमा पनि विभिन्न निकायमा धाइरहेका छौ, सकेसम्म दवाब पनि दिइरहेकै छौ ।’ अध्यक्ष अर्यालले भने–‘हाम्रा माग पूरा नभएसम्म आन्दोलन कुनै न कुनै रुपमा जारी नै रहनेछ । बेवास्ता भए कडा आन्दोलन थाल्न फेरि बाध्य हुनेछौ ।’ 

उनका अनुसार लगानीकर्ताहरुको खबरदारीपछि नियामकहरुले समेत आफ्नो सक्रियता बढाएका देखिएको छ । ‘नियामकहरु पनि हाम्रा मुद्धाप्रति गम्भीर छन् भन्ने देखिएको छ ।’ उनले भने –‘हामीले उठाएका माग नियामकहरुले नै गरेका घोषणा हुन्, त्यसकारण ती पूरा हुन्छन् भन्नेमा हामी विश्वस्त छौ ।’