काठमाण्डौ । सेयर लगानीका लागि निकै आकर्षक ग्लोबल आइएमई बैंक लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा खुद नाफातर्फ राम्रो प्रगति हासिल गरेको छ ।

अघिल्लो  वर्षको तेश्रो  त्रैमासको तुलनामा खुद नाफातर्फ ४२.९८ प्रतिशतको प्रगति हासिल भएको हो ।

बैंकले बुधबार सार्वजनिक गरेको बित्तीय विवरण अनुसार अघिल्लो वर्ष १ अर्ब ३ करोड खुद नाफा रहेकोमा यो वर्षको सोही अवधिमा बढेर १ अर्ब ४७ करोडको उचाईमा पुगेको हो ।

बैंकको संचालन मुनाफा समेत १ अर्ब ३५ करोडबाट वृद्धि भई १ अर्ब ९६ करोडको उचाईमा पुगेको छ ।

बैंकको खुद ब्याज आम्दानी २ अर्ब ७ करोड रुपैयाँ रहेकोमा यो वर्ष बढेर २ अर्ब ६५ करोडको उचाईमा पुगेको छ । यो बैंकको चुक्तापुँजी ७ अर्ब २४ करोड र जगेडा कोषमा ३ अर्ब १२ करोड रुपैयाँ जम्मा भएको छ ।

बैंकले यो अवधिमा ८५ अर्ब ८१ करोड निक्षेप संकलन गरी ७३ अर्ब १३ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यो बैंकले ६७ अर्ब ४० करोड निक्षेप संकलन गरी ५७ अर्ब ३४ करोड कर्जा परिचालन गरेको थियो ।

अघिल्लो वर्ष १.९३ प्रतिशतमा रहेको निस्क्रिय कर्जा दर घटेर यो वर्ष १.५३ प्रतिशतमा आइपुगेको छ ।

यो बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी २७ रुपैयाँ १७ पैसा, प्रतिसेयर नेटवर्थ १५३.७४ रुपैयाँ र मुल्य आम्दानी अनुपात १५.७५ गुणा कायम भएको छ ।