काठमाण्डौ । सेयर बजारको आकार, कारोबारको समय, प्रविधिले कारोबारमा सहजतासँगै लगानीकर्ताहरु समेत पछिल्लो समय बढेका छन् । राम्रा कम्पनीको नयाँ सेयर निश्कासन हुँदा आवेदन दिनेहरुको निकै लामो लाइन लाग्ने गरेका कारण समेत सेयरप्रति सर्वसाधारणको आकर्षण प्रष्टिन्छ । सेयर बजारलाई गुल्जार बनाइराख्न विभिन्न कम्पनीहरुले समय समयमा आइपीओ, एफपीओ, हकप्रद, बोनस लगायतका सेयरहरु जारी गरिरहेका हुन्छन् । यही मेसोमा चालु आर्थिक वर्षमा समेत १० वटा कम्पनीले ८६ करोड रुपैयाँ बराबरको सेयरको प्राथमिक निश्कासन गर्ने(आइपीओ गर्ने) अहिले नै निश्चित झै भइसकेको छ । 

जलविद्युत र लघुवित्त कम्पनीको गरी १० वटा कम्पनीहरुले सो रकम बराबरको ८६ लाख ५ हजार कित्ता सेयरको प्राथमिक निश्कासन गर्ने भएका हुन् । आगामी दिनमा आइपीओका लागि आवेदन दिनसक्ने अन्य कम्पनीहरुको अहिले कुनै हिसाबकिताब छैन । यसको अर्थ लगानीकर्तालाई लगानीका लागि थप ठूला अवसर यो आर्थिक वर्षमा आउने निश्चित देखिन्छ । 

तत्कालका लागि नेपाल धितोपत्र बोर्डमा आइपीओका लागि आवेदन दिएकामध्ये ७ जलविद्युत कम्पनी र ३ लघुवित्त बैंक छन् । ती कम्पनीहरुले अंकित मूल्य १ सयका दरले सेयर निश्कासन गर्नेछन् । १० कम्पनीमध्ये केहीले अनुमति पाएर पनि निश्कासन गरिसकेका छैनन् भने केही चाहि निश्कासनका लागि बोर्डमा आवेदन दिएर बसेका छन् । 

बित्तीय क्षेत्रमा कम्पनीले आफ्नो चुक्तापूँजीको न्यूनतम ३० प्रतिशत सेयर सर्वसाधारणलाई वितरण गर्नैपर्ने कानूनी व्यवस्था छ । यसैका लागि कम्पनीहरुले आइपीओ र एफपीओ गर्ने गर्छन । 

जलविद्युत कम्पनीहरुका लागि भने स्थानीयलाई १० सहित न्यूनतम २५ प्रतिशत सेयर सर्वसाधारणका लागि निश्कासन गर्नुपर्ने प्रावधान छ । यसका लागि पनि कम्पनीले आइपीओ र एफपीओकै साहारा लिन्छन् । 

यी कम्पनीको आउँदैछ आइपीओ
निकट भविष्यमै सेयर जारी गर्नेहरुमध्ये नेशनल माइक्रो फाइनान्स बित्तीय संस्था, सूर्योदय लघुवित्त बित्तीय संस्था, आरएसडीसी लघुवित्त बित्तीय संस्था र सिनर्जी पावर डेभलपमेन्टले नेपाल धितोपत्र बोर्डबाट सेयर निश्कासन अनुमति पाइसकेका छन् । नेशनल माइक्रोफाइनान्स र सिनर्जी पावर डेभलपमेन्टले आजदेखि सेयर निश्कासन गरेका छन् । 

बोर्डबाट अनुमति पाएको मितिले दुई महिनाभित्र सेयर निश्कासन गरिसक्नुपर्ने व्यवस्था धितोपत्र निश्कासन निर्देशिका २०६५ मा छ । सो कारण बाँकी दुई कम्पनीहरुले छिट्टै सेयर जारी गर्नुपर्नेछ । तीमध्ये सिनर्जीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि सेयर निश्कासन गर्न लागेको हो । विद्यमान कानूनी व्यवस्थाअनुसार जलविद्युत आयोजनाहरुले स्थानीयबासीका लागि न्यूनतम १० प्रतिशत सेयर वितरण गर्नैपर्छ । 

हिमालयन पावर पार्टनरले १० लाख ६५ हजार कित्ता सेयर निश्कासनका लागि ०७२ फागुनमै बोर्डमा निवेदन दिएको हो । यो कम्पनीको सेयर निश्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल छ । नेपाल हाइडो डेभलपरले पनि गत बैशाख २० मा बोर्डमा आवेदन दिएको छ । सेयर निश्कासनका लागि एनएमबी क्यापिटल बिक्री प्रबन्धक तोकिएको छ । यो कम्पनीले २ लाख ६० हजार कित्ता सेयर निश्कासनका लागि अनुमति मागेको बताइएको छ । 

यस्तै यूनाइटेड मोदी हाइड्रोपावरले ११ लाख ५० हजार कित्ता सेयर निश्कासनका लागि गत जेठ १७ गते बोर्डमा आवेदन दिएको छ । एनआइबिएल क्यापिटल मार्केट्सले सेयर निश्कासन तथा बिक्री प्रबन्धकको जिम्मा पाएको छ । यसैगरी, आँखुखोला जलविद्युत कम्पनीले पनि ८ लाख कित्ता सेयर निश्कासन गर्दैछ । सेयर निश्कासनको जिम्मा सिभिल क्यापिटललाई दिएको यो कम्पनीले अनुुमतिका लागि गत जेठ ३१ गते बोर्डमा आवेदन दिएको छ । 

अरुण काबेली पावर र च्याङ्दी हाइड्रोपावर कम्पनीले क्रमशः ३० लाख कित्ता र ८ लाख १० हजार कित्ता सेयर निश्कासन स्वीकृतिका लागि बोर्डमा आवेदन दिएका छन् । अरुणले गत असार २८ गते र च्याङ्दीले साउन ४ गते आवेदन दिएको हो । अरुण काबेलीको सेयर निश्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल र च्याङ्दीको ग्लोबल आइएमई क्यापिटल रहेका छन् । यी कम्पनीको आवेदनमाथि अध्ययन भइरहेको र मापदण्ड पूरा गरेकालाई निकट भविष्यमै आइपीओ निश्कासनको अनुमति दिने बोर्डको तयारी छ ।