काठमाण्डौ । लगानी व्यवस्थापनको नाममा केही कम्पनीहरुले ठगी गर्न थालेपछि धितोपत्र बोर्डले एक जरुरी सूचना प्रकाशन गरी कानूनअनुसार अनुमतिपत्र लिएर मात्र यस्तो काम गर्न चेतावनी दिएको छ । 

बोर्डले सोमबार एक सूचना प्रकाशित गर्दै कतिपय कम्पनीहरुले अनुमतिपत्र प्राप्त नगरी लगानी व्यवस्थापनको कार्य गरेका भन्ने गुनासो आएको र यस्तो कार्य गैरकानूनी भएको प्रष्ट्याएको हो । 

‘धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा ५६ को उपदफा (१) मा धितोपत्र व्यवसाय गर्न चाहने कम्पनी वा संस्थाले बोर्डबाट धितोपत्र व्यवसाय संचालन गर्ने अनुमतिपत्र लिनु पर्ने र  उपदफा (२) मा कसैले पनि ऐन बमोजिम बोर्डबाट धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र प्राप्त नगरी धितोपत्र व्यवसाय गर्न पाउने छैन भन्ने स्पष्ट व्यवस्था छ।’ बोर्डले भनेको छ–‘बोर्डवाट धितोपत्र व्यवसाय (लगानी व्यवस्थापन) को कार्य गर्न अनुमतिपत्र प्राप्त नगरी कतिपय संस्थाहरुले लगानी व्यवस्थापनको कार्य गरेको भन्ने गुनासो प्राप्त भएको सन्र्दभमा वोर्डवाट अनुमतिपत्र प्राप्त नगरी लगानी व्यवस्थापन गर्ने कार्य गैरकानुनी भएकोले अनुमतिपत्र लिएर मात्र लगानी व्यवस्थापनसम्वन्धी कार्य गर्न सम्वन्धित सवैलाई सूचित गरिन्छ ।’

बोर्डले अनुममिपत्र प्राप्त नगरेका संस्थामार्फत लगानी नगर्न लगानकिर्ताहरुलाई आग्रह गरेको छ । 

‘यस्ता संस्थामार्फत लगानी गर्दा लगानीकर्ताहरुको लगानी जोखिममा पर्न सक्ने हुनाले लगानी व्यवस्थापनसम्वन्धी कार्य गर्दा उक्त संस्थाले बोर्डबाट अनुमतिपत्र प्राप्त गरेको यकिन गरेर मात्र उक्त सेवा लिनुपर्छ ।’ बोर्डले भनेको छ । 

बोर्डले लगानी व्यवस्थापनको कार्य गर्न आफूहरुबाट अनुमतिप्राप्त २९ कम्पनीको सूचि समेत सार्वजनिक गरेको छ । यी बाहेक यो क्षेत्रमा काम गरिरहेका अन्य कम्पनी गैरकानूनी रहेका उसको प्रष्टोक्ति छ । 

बोर्डबाट कानूनी रुपमा लगानी व्यवस्थापनको कार्य गर्न कुन कुन कम्पनीले अनुमतिपत्र प्राप्त गरेका छन् त ? हेर्नुहोस् सूचि: