काठमाण्डौ । बेलायत भ्रमणमा रहेका अर्थमन्त्री डा. युवराज खतिवडासँग बेलायतको हाउस अफ लर्डसका सदस्य तथा अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री लर्ड वेटस्ले नेपालको विकास बारेमा चासो व्यक्त गरेका छन् । 

नेपालमा अन्तर्राष्ट्रिय लगानी भित्रयाउन बेलायत पुगेका मन्त्री खतिवडासँग हाउस अफ कमन्समा भएको शिष्टाचार भेटघाटमा बेलायती मन्त्री लर्डले २०७२ सालको विनाशकारी भूकम्पपछिको पुर्ननिर्माण, संघीयत कार्यान्वयन र विकासको बारेमा चासो व्यक्त गरेका थिए । 

जवाफमा मन्त्री खतिवडाले नेपालमा जारी भएको लोकतान्त्रिक संविधान विश्वमै उत्कृष्ट मध्येको एक भएको र देशमा समावेशीताको पूर्ण अभ्यास भएको बताएका उनको निजी सचिवालयबाट जारी विज्ञप्तिमा उल्लेख छ । 

संविधासभाका ९० प्रतिशतभन्दा बढी सदस्यले हस्ताक्षर र सहयोगमा निर्माण भएको संविधानकै आधारमा निर्माण भएको नेपालको संघीय संरचना विश्वमा उदाहरणीय भएको समेत उनले बताएका थिए । नेपालको संसदमा महिला, दलित, आदिवासी जनजाति, मुस्लिम तथा सिमान्तकृत समुदायको एकतिहाई भन्दा बढी प्रतिनिधित्व रहेको उनले सो क्रममा सुनाएका थिए । 

भेटमा लर्डले नेपालबाट संसारले समावेशीताको विषय सिक्नुपर्ने बताए ।

लर्डले खतिवडासँग मुलुक संघीयतामा गएको अवस्थामा राज्यले राजश्वको परिचालनलाई कसरी प्रभावकारी बनाउने भन्ने सम्बन्धमा बेलायतको अनुभव समेत सुनाएका थिए । 

वेडले नेपालको विकास प्रक्रियामा बेलायतले सदैव सघाउन तयार भएको प्रतिवद्धता समेत व्यक्त गरेका छन् । 

मन्त्री खतिवडाले पुर्ननिर्माणको काम भइरहेको र ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरुको निर्माण कार्य तीव्र रुपमा अघि बढेको सो क्रममा जानकारी दिएका थिए । 

खतिवडाले बेलायत नेपालको पहिलो कुटनैतिक सम्बन्ध कायम रहेको मित्रराष्ट्र भएकाले दुवै देशबीचको सहकार्य थप उचाईमा पुग्ने विश्वास व्यक्त गरे ।
भेटमा खतिवडाले बेलायतले नेपालका विभिन्न क्षेत्रमा सञ्चालन हुने विकास परियोजनामा थप सहयोगको अपेक्षा समेत व्यक्त गरेका थिए । 

मन्त्री खतिवडाले मन्त्री वेर्डमार्फत नेपाल भ्रमणका लागि बेलायत सरकारलाई औपचारिक निमन्त्रणा समेत दिएका बताइएको छ ।