काठमाण्डौ । लगातारको उछालपछि हिजो सामान्य करेक्सन आएको बजारमा यो साताको अन्तिम कारोबार दिन बिहीबार थोरै अंकले बढोत्तरी आएको छ । 

आजको दिन नेप्से इन्डेक्स हिजोको तुलनामा ३.५१ अंकको बढोत्तरीसँगै १२ सय १३.११ को विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स पनि ०.९५ अंकले बढेर २६४.२६ विन्दुमा उक्लिएको छ । 

बुलिस गतिमा कुदेको बजारमा हिजो बुधबार ७.३२ अंकको करेक्सन आएको थियो । बढ्दो बजारमा करेक्सन आउनु स्वाभाविक प्रक्रिया रहेको र यस्तो शिलशिला एकदिनमै सीमित रहनुले बजार बढ्ने संभावना अझै रहेको विश्लेषकहरु दाबी गर्छन् । उनीहरुको दाबीलाई आधार मान्ने हो भने आगामी साता पनि बजारमा उछालको अवस्था बन्नसक्ने संभावना प्रवल छ । 

सुखद भविष्यको संकेत गरेको बिहीबारको बजारमा ५ समूहको उपसूचकमा हरियो पोतियो भने बाँकी ७ उपसूचकमा रातो पोतियो । 

नेप्से इन्डेक्समा सामान्य वृद्धिसँगै कारोबार रकममा समेत बढोत्तरी आएको छ । हिजो ७३ करोड रुपैयाँको हाराहारीमा कारोबार भएकोमा आज बढेर झन्डै ८४ करोड रुपैयाँबराबरको कारोबार भएको छ । कारोबारमा सिभिल बैंकको संस्थापक सेयरको २० करोड बढीको किनबेचले बलियो टेवा दिएको देखिन्छ । 

नेप्से परिसूचक सामान्य अंकले बढ्दा कारोबार रकममा पनि राम्रै बढोत्तरी हुनुले पनि आगामी दिन बजार र लगानीकर्ताका लागि अझ सुखद रहेका जानकार दाबी गर्छन् । 

बिहीबार निर्जीवन बिमा र लघुवित्त समूहको उपसूचकमा क्रमशः ९५.४१ र ६३ अंकले वृद्धि भयो । त्यस्तै व्यापार, विकास बैंक र जीवन बिमा समूहमा क्रमशः ४.२५, ६.७९ र १९.१२ अंकको बढोत्तरी भयो । 

यस दिन उत्पादन तथा प्रशोधन समूहमा १०.५१ अंकको गिरावट आयो भने बैंकिङ, होटेल्स्, जलविद्युत्, वित्त, अन्य र म्युचुअल फन्ड समूह क्रमशः १.४२, ६.३९, १.०५, ०.३४, २.५६ र ०.०७ अंकले घट्यो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७७ कम्पनीका ३८ लाख ४९ हजार ७२२ कित्ता सेयर ८३ करोड ७० लाख ३५ हजार ७५७ रुपैयाँमा किनबेच भयो । 

सिभिल बैंकको २० करोड १८ लाख रुपैयाँको संस्थापक सेयरको किनबेच भएको यो दिन ग्रामीण विकास लघुवित्त र डिप्रोक्स लघुवित्तले क्रमशः २ करोड ३६ लाख र २ करोड २४ लाख रुपैयाँबराबरको कारोबार गरे । 

यसैगरी फस्र्ट माइक्रोफाइनान्स, वोमी लघुवित्त, साना किसान लघुवित्त, प्रभु बैंक, शिवम् सिमेन्ट, एनआईसी एसिया बैंक र नेपाल लाइफ इन्स्योरेन्सले क्रमशः १ करोड ७० लाख, १ करोड ६८ लाख, १ करोड ५८ लाख, १ करोड ५४ लाख, १ करोड ४५ लाख, १ करोड ४५ लाख र १ करोड ४० लाख रुपैयाँबराबरको कारोबार गरे।

धेरै कमाउने र गुमाउने कम्पनी
आजको दिन पनि लघुवित्त कम्पनीका लगानीकर्ताहरु मालामाल बनेका छन् । धेरै कमाउने मुख्य १० कम्पनीको सूचीमा सबै स्थानमा लघुवित्त कम्पनीले कब्जा जमाए । 

यो दिन स्वाभिमान लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत तथा सपोर्ट, समता, घोडीघोडा लघुवित्तका सेयरमूल्यमा पनि झन्डै १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लाग्यो । 

यसैगरी महिला सहयात्री, नेपाल सेवा, सामुदायिक, विजय र सिभिल लघुवित्तको सेयरमूल्यमा पनि ९ प्रतिशतभन्दा बढी र स्वदेशी लघुवित्तको सेयरमूल्यमा झन्डै ९ प्रतिशतले बढोत्तरी भएको छ । 

आजको दिन रिलायन्स फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्यमा झन्डै ६ प्रतिशतले गिरावट आयो ।