काठमाण्डौ । दोश्रो बजारमा महङ्गो मूल्यमा खरीदबिक्री हुने लघुवित्त वित्तीय संस्थाको सेयर प्रतिकित्ता रु. १०० मै पाउने अवसर पाइने भएको छ । 

एनआइसी एशिया बैंक लिमीटेडको सहायक कम्पनीको रुपमा रहेको एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमीटेडले निकट भविष्यमै आइपीओ निश्कासन गर्ने भएको हो । 

यो कम्पनीले ४७  लाख ५५ हजार कित्ता आइपीओ निश्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । 

प्रतिकित्ता रु. १०० रुपैयाँ दरले कुल ४७ करोड ५५ लाख रुपैयाँ बराबरको पूँजी सर्वसाधारणबाट जुटाउनका लागि लघुवित्तले आइपीओ निश्कासन गर्न लागेको हो । 

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमीटेड रहेको छ । 

धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले सर्वसाधारणका लागि आइपीओको बिक्री खुलाउनेछ । 

यो वित्तीय संस्थाको एक महिनाअघि सम्पन्न दोश्रो वार्षिक साधारणसभाले आइपीओ निश्कासन गरी सर्वसाधारणबाट पूँजी जुटाउने निर्णय गरेको थियो। 

यो कम्पनीले जारी गर्न लागेको आइपीओको आकार नेपालका माइक्रोफाइनान्स कम्पनीहरुले हालसम्म जारी गरेका आइपीओमध्येकै ठूलो हुनेछ । 

यस लघुवित्त वित्तीय संस्थाले स्थापनाको छोटो समयमै दुर्गम जिल्ला जाजरकोटमा रजिष्टर्ज कार्यालय स्थापना गरी वित्तीय पहुँच नपुगेका स्थानहरुलाई प्राथमिकता दिई मुलुकको १९ जिल्लाहरुमा ६१ शाखा कार्यालय स्थापना गरी विपन्न वर्गहरुलाई सहज वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।