काठमाण्डौ । एनएमबी बैंक, हिमालयन डिस्टीलरी लगायतका कम्पनीहरुको आकर्षक लाभांश वितरण प्रस्तावले चम्किएको बजार एक दिन पनि टिक्न सकेन । सोमबार दोहोरो अंकले बढेको नेप्से मंगलबार भने ५.६१ अंकले घटेको छ । 

कारोबार रकममा पनि गिरावट व्यहोरेको बजारमा सर्टटर्म कारोबारीको प्रफिट बुक गर्ने हतारोले मंगलबारको बजार प्रभावित भएको विश्लेषकहरुको दाबी छ । 

कतिपयले पछिल्लो समय बजारमा ऋणपत्रमा लगानीको अवसरहरु रहेकाले धेरै लगानीकर्ताले आफूसँग भएको पूँजी त्यस्ता उपकरणहरुमा लगाउँदा त्यसले दोश्रो बजारलाई नराम्रोसँग प्रभावित बनाएको दाबी समेत गरिरहेका छन् । लामो अवधिका लागि निश्कासित ऋणपत्रहरुमा १०.२५ प्रतिशतसम्म ब्याजको ग्यारेण्टी हुने र लामो समयसम्म ब्याजदर परिवर्तनको जोखिम नहुने भएकोले निश्चित रिटर्नका लागि ढुक्क भएर लगानीकर्ताहरुले ऋणपत्र रोजिरहेका देखिएको छ। लगानीकर्ताहरु लगानीको विकल्पहरुमा केन्द्रीत हुँदा यसले सेयर बजारलाई भने नराम्ररी प्रभाव पारिरहेको छ।

हिमालयन डिस्टीलरीको सतप्रतिशत लाभांश घोषणाको प्रभाव मंगलबारको बजारमा समेत देखियो । जसका कारण उत्पादन तथा प्रशोधन समूहको उपसूचक ९.१८ अंकले बढ्यो भने बाँकी सबै समूहको उपसूचकमा रातो पोतियो ।

बैंकिङ समूह ५.३१ अंकले घटेको यो दिन होटल समूहमा १३.०५ अंक, विकास बैंक समूहमा १३.१८ अंक, जलविद्युत समूहमा ६.९२ अंक, बित्त समूहमा ३.६८ अंक, निर्जीवन बिमा समूहमा ५५.८९ अंक, जीवन बिमा समूहमा ५.२५ अंक, माइक्रोफाइनान्समा १०.९९ अंक र म्युचुअल फण्ड समूहमा ०.०२ अंकको गिरावट आएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६१ कम्पनीका १० लाख ८२ हजार ८१५ कित्ता सेयर ३७ करोड ९८ लाख ४९ हजार ४३५ रुपैयाँमा किनबेच भएका छन् । 

हिमालयन डिस्टीलरीले सबैभन्दा बढी ६ करोड ९७ लाख बढीको कारोबार गरेको छ । 

एनएमबी बैंकले ६ करोड ४५ लाख बढीको कारोबार गरेको यो दिन चिलिमे हाइड्रोले २ करोड ५० लाख, नवील बैंकले १ करोड ६० लाख बढीको कारोबार गरेका छन् । 

कुमारी बैंकको १ करोड २५ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा प्रभू बैंकले १ करोड ७ लाख, एनसीसी बैंकले ९५ लाख बढीको कारोबार गरेका छन् । 

छिमेक लघुवित्तको ९४ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा निर्धन उत्थान लघुवित्त र प्राइम कमर्सियल बैंकले ९१ ९१ लाख बढीको कारोबार गरेका छन् । 

धेरै कमाउने र गुमाउने कम्पनी
अघिल्लो दिन पोजिटिभ सर्किट लागेको हिमालयन डिस्टीलरीको सेयरमा मंगलबार समेत आकर्षण कायमै रह्यो । सतप्रतिशत बढी लाभांश घोषणाले लगानीकर्ता यो कम्पनीको सेयरमा दोश्रो दिन पनि झुम्मिए । लगानीकर्ताको आकर्षणकै कारण यो दिन कम्पनीको सेयर मूल्य सबैभन्दा बढी ७.५४ प्रतिशतले बढ्यो । हिमालयन डिस्टीलरीका लगानीकर्ताले मंगलबार पनि प्रतिकित्ता बराबर १२९ रुपैयाँ सम्पत्ति बढाउन सफल भए ।

यो दिन घोडाघोडी लघुवित्तको सेयर मूल्यमा ६ प्रतिशतको हाराहारीले बढोत्तरी भयो ।

यो दिन जोशी हाइड्रोपावरको मूल्यमा सबैभन्दा धेरै गिरावट आयो । कम्पनीको सेयर मूल्य ५.०८ प्रतिशतले घटी प्रतिकित्ता ५६ रुपैयाँ कायम भएको छ ।