काठमाण्डौ । सूचिकृत कम्पनीहरुको लाभांश घोषणा र चालु आर्थिक वर्षको पहिलो त्रैमासिक रिपोर्टको प्रभावले सकारात्मक बन्न खोजेको बजार फेरि सुस्ताएको छ । 

लाभांश घोषणा र त्रैमासिक रिपोर्टको प्रभावलाई ब्याजदरमा हुन थालेको वृद्धि र समग्र अर्थतन्त्रमा देखिएको संकुचन जस्ता खबरहरुले दवाबमा पार्दा त्यसको सोझो प्रभाव बजारमा देखिएको हो । 

यो अवधिमा बजारका सर्टटर्म कारोबारीले समेत थोरै नाफा बुक गरेर बिक्रीमा हतारो देखाउँदा बजारमा सुस्तता थपिएको देखियो । 

केही कम्पनीहरुको लाभांश घोषणापछि बढेको बजार मूल्य प्रफिट बुकको हतारोले पुनः घट्न थालेको देखिएको छ । यसले समेत लगानीकर्ताको प्रफिट बुकतर्फको हतारोले लयमा फर्किन खोजेको बजार पुनः कमजोर बन्न थालेको देखिन्छ । 

यिनै कारणले मंगलबार नेप्से परिसूचक १.१४ अंकले घट्यो भने कारोबार रकम खुम्चिएर २५ करोडमा सीमित बन्न पुग्यो । नेप्से परिसूचक र कारोबार रकममै आएको गिरावट राम्रो संकेत होइन । 

यो दिन राम्रा र बलिया कम्पनीमा भने थोरै भए पनि खरीद चाप देखिएको छ । यहीकारण सेन्सेटिभ इण्डेक्स ०.३१ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा भने ०.१२ अंकको गिरावट आएको छ । 

यो दिन बैंकिङ समूह १.६२ अंकले घटेको छ भने जलविद्युत समूहमा १.६२ अंक, बित्त समूहमा २.८९ अंक, निर्जीवन बिमा समूहमा ३९.७१ अंक, जीवन बिमा समूहमा २५.११ अंक र माइक्रोफाइनान्स समूहमा ०.८७ अंकको गिरावट आएको छ । 

व्यापार समूह २७.६४ अंकले बढेको यो दिन सोल्टी होटलका आकर्षक लाभांश घोषणाका कारण होटल समूहमा ४९.११ अंक, विकास बैंक समूहमा २ अंक, उत्पादन तथा प्रशोधन समूहमा ०.२८ अंक, म्युचुअल फण्ड समूहमा ०.०२ अंक र अन्य समूहमा १.६६ अंकको बढोत्तरी भएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६३ कम्पनीका १० लाख १६ हजार ४० कित्ता सेयर २५ करोड ९३ लाख ३० हजार ५९५ रुपैयाँमा किनबेच भएको छ । 

सबैभन्दा बढी एनएमबी बैंकले ३ करोड २० लाख बढीको कारोबार गरेको छ । 

एनएमबी बैंककै २ करोड बढीको संस्थापक सेयर किनबेच भएको बजारमा नेपाल बैंकले १ करोड ८७ लाख बढीको कारोबार गरेको छ । 

मुक्तिनाथ विकास बैंकको १ करोड ५६ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा नवील बैंकले १ करोड ३६ लाख, सोल्टी होटलले १ करोड ३० लाख, हिमालयन डिस्टीलरीले १ करोड १० लाख, एनआइसी एशिया बैंकले ८८ लाख, कृषि विकास बैंकले पनि ८८ लाख र प्रभू बैंकले ७२ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन पनि केही दिनअघिदेखि झै साल्ट ट्रेडिङ कर्पोरेसनको मूल्यमा पोजिटिभ सर्किट लाग्यो । 

यस्तै घोडाघोडी लघुवित्तको सेयर मूल्य समेत १० प्रतिशतकै हाराहारीमा बढ्यो । नेपाल हाइड्रो डेभलपर्स लिमीटेडको सेयरमा ९.३८ र ङादी ग्रुप पावर लिमीटेडको सेयरमूल्यमा ९.१८ प्रतिशतको बढोत्तरी भयो । 

यो दिन सिन्धु विकास बैंकका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्य ८ प्रतिशतको हाराहारीमा घट्न पुग्यो ।