काठमाण्डौ । क्यारेबियन देश डोमिनिकन रिपब्लिकमा एक रेडियोको प्रत्यक्ष प्रशारण भइरहेकै समयमा २ पत्रकारको गोली हानी हत्या भएको छ । 

हत्या हुनेमध्ये एक पत्रकार रेडियोको प्रत्यक्ष प्रसारण कार्यक्रममा फेसबुक लाइभको रेकर्ड गरिरहेका थिए । 

घटनाको फूटेजमा रेडियोको लाइभ प्रसारणको दौरान अचानक गोली चलेको आवाज सुनिएको र एक डराएकी महिला गोली चल्यो, गोली चल्यो भन्दै चिच्चाइरहेको समेत सुनिएको छ । 

बीबीसीका अनुसार यो घटना मंगलबार सो देशको राजधानी सान्तो दोमिन्गोको पूर्वी भेगमा भएको थियो । 

हत्यामा संलग्नताको आशंकामा तीन व्यक्तिलाई स्थानीय प्रहरीले पक्राउ गरेको समाचारमा उल्लेख छ । 

घटनास्थलमा गोली लागेका दुवै पत्रकारको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये एक कार्यक्रम प्रस्तोता लुुइस म्यानुुअल र अर्का रेडियो निर्माता लियो मार्टिनेज रहेका समाचारमा जनाइएको छ । 

गोलीबारीमा एक महिला घाइते भएकी छन् र उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 
हिरासतमा लिइएका व्यक्तिको बिषयमा अनुसन्धान भइरहेको र घटनाको कारण अझै खुल्न नसकेको प्रहरीलाई उद्धृत गर्दै बीबीसीको समाचारमा जनाइएको छ । 

सन् २०१५ को अगस्टमा समेत अमेरिकाको भर्जिनिया राज्यमा यस्तै शैलीमा लाइभ टिभी प्रसारण गरिरहेका २ पत्रकारको गोली हानी हत्या गरिएको थियो ।