-भक्तराज रसाइली 
काठमाण्डौ । सानिमा बैंकले अनलाइन सेयर खरिदबिक्रीका नाममा नियामक सेबोन  र नेप्सेकै आडमा  गैरकानूनी र ठगीधन्दा चलाइरहेको तथ्य फेला परेको छ ।

विगत लामो समयदेखि यो बैंकले यस्तो धन्दा संचालन गर्दै आए पनि यसमा बजारको नियामक धितोपत्र बोर्ड र फ्रन्ट लाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्जका अधिकारी तै चूप मै चूपको अवस्थामा छन् । 

बैंकले गैरकानूनी विज्ञापन गरेर सर्वसाधारणलाई झुक्याएको मात्र छैन, गैरकानूनी ढंगले सेयर कारोबारबाट रकम असूली लुट समेत मच्चाइरहेको छ । अनुमति नै नलिएको सेवा संचालन गरी लुट मच्चाउँदा समेत कुनै निकायको ध्यान जान नसकेको देखिएको छ । 

यही विषयमा फलोअप गर्ने क्रममा आज बिजशाला प्रतिनिधिले नारायण चौरमा रहेको बैंकको प्रधान कार्यालयको हेल्प डेस्कमा गएर सम्बन्धित कर्मचारीलाई बुझ्दा प्रतिदिन कुल सेयर कारोबार रकमको ०.१ प्रतिशत वा प्रतिदिन कारोबारमा अधिकतम १ सय ५० रुपैयाँ अतिरिक्त शुल्क सानिमा क्यापिटललाई बुझाउनुपर्ने जानकारी पाइयो।

नेप्सेले निर्धारण गरेको कमिसन सिलिङलाई नै ठाडै चुनौति दिएको र यसले कमिसन सम्बन्धी कानूनी व्यवस्थाकै धज्जी उडाएको विज्ञहरु बताउँछन् ।

नेप्सेले तोकेको कमिसनका अतिरिक्त अन्य सेवाशुल्क लिनै नपाइने र ब्रोकर लाइसेन्सबिनै यस किसिमको सेवा दिँदा नियामक सेबोन र नेप्से किन चूपचाप बसेका छन् ? भन्ने विषयले उनीहरुको भूमिकामाथि नै संशय पैदा भएको हाल ब्रोकर लाइसेन्स लिएका सदस्य सेयर दलालहरु बताउँछन् । 

गैरआवासीय नेपाली(एनआरएनए)हरुको समेत लगानी रहेको सानिमा बैंकले कैयौं महिनादेखि नै गैरकानूनी सेवाको बिषयमा भ्रमपूर्ण र झूठा विज्ञापन गरिरहेको छ । तर, यस्ता विज्ञापन गरी सेवा दिइरहँदासम्म पनि नियामक तथा सम्बद्ध निकायले ध्यान नदिएका पाइएको छ । 

नियामक नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा रेवत बहादुर कार्कीलाई सानिमा बैंकका सीइओ भुवन दाहालले ‘ब्रम्हा, विष्णु, महेश्वर’ भन्दै लबिङ गर्ने गरेको र बैंकका प्रमोटरहरु शक्तिकेन्द्रका आसेपासे भएकै कारणले समेत सर्वसाधारणलाई ठग्ने काम जारी रहेको स्रोत  दाबी गर्छ ।

‘थ्री इन वान सानिमा खाता’को नाममा ‘नेपालकै पहिलो पटक सेयर खरिद तथा बिक्री’ भनी बैंकले अनुमति नै नपाएको सेवा प्रवाह गरिरहेको छ । यस्तो गैरकानूनी सेवाको भ्रमपूर्ण विज्ञापन गरी धमाधम सर्वसाधारणबाट गैरकानूनी शुल्क लिई झुक्याउने काम गरिरहँदा समेत बैंकमाथि कुनै कारबाही हुन सकेको छैन ।

बैंकले खुलेआम गैरकानूनी सेवाको बिषयमा लाखौं खर्च गरेर विज्ञापन गरिरहँदा र सेवा प्रारम्भ गरिसक्दा समेत नियामक निकायले यसलाई रोक्ने बिषयमा किन चासो दिएका छैनन् भन्ने बिषय रहस्यमय बनिरहेको छ ।

सानिमा बैंक लिमीटेडले सेयर कारोबारसहित एउटै खाताबाट तीनवटा काम गर्न मिल्ने गरी ‘थ्री इन वान खाता’ लञ्च गरेको देखिन्छ । उसले गरेको विज्ञापनमा स्पष्ट भनिएको छ–‘नेपालमै पहिलोपटक सेयर खरीद तथा बिक्री ।’ 

विज्ञापनमा उसले दाबी गरेजस्तो ब्रोकरेज सेवा प्रवाहका लागि यो बैंकलाई कुनै पनि निकायले अनुमति दिएको छैन । नेपाल राष्ट्रबैंकका प्रवक्ता  र कसैलाई पनि यस्तो सेवा प्रवाहका लागि आजको मितिसम्म अनुमति दिएको जानकारी छैन ।

अर्कोतर्फ, नेप्सेले सुरु गरेको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा आफ्ना ब्रोकरमार्फत अनलाइन युजर आइडी र पासवर्ड लिएर कारोबार गर्नेको संख्या समेत बढिरहेको नेप्सेकै तथ्यांकले बोल्छ । एनसीएचएलमार्फत बैंक इन्ट्रीगेसन भएपछि नेपाल राष्ट्र बैंकले तोकेको सीमामा रहेर बैंक रकमान्तर समेत नेप्सेको टीएमएसमा नै व्यवस्था मिलाइएको छ । सिडिएससीको ‘मेरो सेयर’ पोर्टलबाट सहजै धितोपत्र राफसाफ तथा हस्तान्तरण समेत इडीआइएसमार्फत हुने व्यवस्था छ । अब दोस्रो बजारमा स्वयम् लगानीकर्ताहरुले अनलाइन कारोबार प्रणालीको आफ्नै विन्डोमार्फत सेयर खरिदबिक्री गरिरहेका बेला सोझासिधा लगानीकर्ताहरुलाई बैंकले ब्रोकर लाइसेन्स नै नलिई सेवा सुचारु गर्दा नेप्सेका अधिकारीहरुसमेत रमिते बनिरहेका छन् ।

सानिमा बैंकको झूठो प्रचार र भ्रममा पार्ने गरी आएको ‘थ्री इन वान खाता’का कारण र अतिरिक्त सेवा शुल्क लिएकोमा ब्रोकरहरु समेत रुष्ट छन् । स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाटले सानिमा बैंकको प्रचारले धितोपत्र कारोबार ऐनको बर्खिलाप भएको बिजशालासँग सुनाए । यस्तो कदमप्रति नियामक धितोपत्र बोर्डले विचार गर्नुपर्ने अध्यक्ष रानाभाटको भनाइ छ । 

यसै विषयमा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारसँग बिजशालाले प्रतिक्रिया बुझ्दा अतिरिक्त शूल्क नपाइने र यो गैरकानूनी काम भएको उल्लेख गर्दै भने–‘यति ठूलो गैरकानूनी काम हुँदा समेत नेप्से र सेबोनका अधिकारी किन बोल्नु भएको छैन, हामी यसमा चासो दिन्छौ । यसरी सोझा लगानीकर्तालाई झुक्याउन र ठगी गर्न पाइन्न ।’

हालसम्मको व्यवस्था अनुसार नेपालमा सेयर खरीदबिक्री गर्न पाउने गरी ५० वटा ब्रोकरले मात्र लाइसेन्स पाएका छन् । तर, अनुमतिबिना नै सानिमा बैंकले ल्याएको प्रडक्ट तथा गरिरहेका प्रचार पूर्ण रुपमा गैरकानूनी भएको अनि गैरकानूनी सेवाकै कारणले  बैंककै गरिमा समेत घटाएको पुराना सेयर लगानीकर्ता मनोहर अग्रवालको टिप्पणी छ ।

सानिमा बैंकको गैरकानूनी काम र भ्रमपूर्ण विज्ञापनमा राष्ट्रिय कलाकारहरु महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले मोडलिङ गरेका छन् । बैंकले गैरकानूनी कामको विज्ञापनमा राष्ट्रिय कलाकारहरुलाई समेत विवादमा पार्ने काम गरेको देखिन्छ । यो गैरकानूनी बिषयतर्फ हेर्दै नहेरी पैसाकै लागि महजोडी समेत विवादास्पद विज्ञापनमा प्रयोग भएका छन् ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डले सेयर बजारका ५० जना ब्रोकरलाई उनीहरुको सेवाको विषयमा प्रचार प्रसार गर्न(विज्ञापन प्रकाशन तथा प्रसारण गर्न) रोक लगाएको छ । सानिमाले ब्रोकरेज सेवा प्रवाहको अनुमति नै पाइसकेको हुन्थ्यो भने पनि यसरी विज्ञापन गर्नु बोर्डको नजरमा गैरकानूनी हो । तर, अनुमति नै नपाएको बिषयमा समेत खुलेआम प्रचार गरिरहँदा धितोपत्र बोर्ड समेत यो बिषयमा बेखबर झै देखिएको छ । 

तर, नेपाल स्टक एक्सचेञ्जले पनि यो विषय निकै संवेदनशील भएको निश्कर्ष निकाली बैंकको गैरकानूनी प्रचारको बिषयमा छानबिन थालेको थियो । नेप्सेका सीइओ चन्द्रसिंह साउद सानिमा बैंकका सीइओ भुवन दाहालका सहपाठी भएकै कारणले समेत उक्त अनुसन्धान समेत रोकिएको चर्चा हुने गरेको छ । 

बिजशाला स्रोतका अनुसार ब्रोकर लाइसेन्स लिएका कतिपय ब्रोकरहरुले नेप्सेको नियामकीय क्षमता नभएको भन्ने सानोतिनो टिप्पणीमै ब्रोकरलाई चिठ्ठी काटेर दादागिरी देखाउन हुर्मत लिएका नजीर रहेका छन् । तर  बजार सञ्चालक नेप्सेका अधिकारीहरु बैंकबाट विभिन्न शीर्षकमा ऋण र बैंकमा आफन्तलाई जागिर खुवाउने प्रलोभनमा  गोप्य सम्झौताबमोजिम नै कुनै कारबाही नगरी गैरकानूनी विज्ञापन र सेवाको विषययमा बेवास्ता गरिरहेको स्रोत दाबी गर्छ ।

अनुमति नै नलिएको सेवाको बिषयमा झूठा प्रचार गर्ने  र सेवा सुचारु गर्न मौन सहमति जनाएका सेबोन अध्यक्ष डा. रेवतबहादुर कार्की र नेप्सेका सीइओ चन्द्रसिंह साउदलाई यो विषयमा बुझ्न खोज्दा उनीहरु सम्पर्कमा आउन चाहेनन् ।