काठमाण्डौ । नेपाल दूरसंचार कम्पनी लिमीटेड(नेपाल टेलिकम)को खूद नाफामा पहिरो गएको छ । 

आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्म यो कम्पनीको खूद नाफा घटेर १० अर्ब २० करोडमा सीमित बन्न पुगेको हो । आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म यो कम्पनीको खूद नाफा १७ अर्ब ४८ करोडको उचाईमा थियो । 

यसरी हेर्दा कम्पनीको खूद नाफा ४१.६१ प्रतिशतले घटेको देखिएको छ । 

ग्राहकहरुबाट हुने आम्दानीमा करिब ३ अर्बले कमी आउँदा तथा लाइसेन्स नवीकरणका लागि आवश्यक खर्च अचाक्ली बढेका कारण यसले टेलिकमको नाफामा गम्भीर क्षति पुर्याएको हो । 

लाइसेन्स नवीकरणबापत मात्रै कम्पनीले समीक्षा अवधिमा १४ अर्ब रुपैयाँ बढी तिर्नुपरेको छ । सरकारलाई यो कम्पनीले लाइसेन्स बापतको रकम ५ वर्षभित्र रु. २० अर्ब बुझाउनुपर्ने व्यवस्थाले समेत कम्पनीको आम्दानी र नाफामा गम्भीर असर पारेको देखिएको छ । 

नाफा पहिरो गएका कारण यसको सोझो असर प्रतिसेयर आम्दानीमा समेत परेको छ । जसका कारण अघिल्लो वर्ष ११६.५६ रुपैयाँ रहेको इपीएस घटेर समीक्षा अवधिमा ६८.०५ रुपैयाँमा सीमित बन्न पुगेको छ। 

यो अवधिमा कम्पनीको पीई अनुपात १०.९४ गुणा, प्रतिसेयर नेटवर्थ ६७८.२१ रुपैयाँ रहेको छ । 

समीक्षा अवधिसम्म १५ अर्ब रुपैयाँ चुक्तापूँजी भएको टेलिकमको रिजर्ब कोष सामान्य बढी ८६ अर्ब ७३ करोडको उचाईमा पुगेको छ ।