काठमाण्डौ । पूँजीगत लाभकरको गणना विधिको विषयमा कार्यान्वयनमा ल्याउन खोजिएको झञ्झटिलो प्रक्रियाविरुद्ध लगानीकर्ताहरु आन्दोलित बनिरहेको बेला बजारमा अपेक्षित चमक आउन सकेको छैन । 

पूँजीगत लाभकर गणनाको नयाँ विधि र कट अफ डेटको विषयमा देखिएको अन्यौलले लगानीकर्ताहरुलाई निराशा बनाउँदा त्यसको प्रभाव बजारमा परेको देखिएको हो । 

बजारमा डिजीटाइजेसन भएसँगै विकास र बिस्तारको नयाँ युगको सुरुवात हुने अपेक्षामा रहेका लगानीकर्ता लाभकर गणनाको बाहानामा बजारलाई पुनः कागजी युगमै फर्काउन खोजिएको भन्दै आन्दोलित छन् । 

यस्तै, लगानीकर्ताका संघसंगठन बजारमा भएको कारोबार राफसाफ नहोस् भन्ने माग गरिरहेका छन् । चारवटा संगठनले आइतबार सिडिएससीलाई पत्र लेख्दै राफसाफ स्थगन गरिदिन आग्रह गरेका थिए । तर, उनीहरुको आग्रह कार्यान्वयनमा आउन नसक्दा यसले लगानीकर्तामा निराशा थप बढाइदिएको छ । 

केही लगानीकर्ता मौद्रिक नीतिको समेत प्रतिक्षामा छन् । मौद्रिक नीतिमार्फत हुने नीतिगत व्यवस्थापछि मात्र खरीदबिक्रीको निर्णय लिने पक्षमा रहेका लगानीकर्ता निस्क्रिय बन्दा समेत बजारमा प्रभाव परिरहेको जानकार बताउँछन् । 

यिनै कारणले सोमबार सेयर बजार परिसूचक(नेप्से) २.४८ अंकले बढी १२७१.२३ को विन्दूमा पुगेको छ । कारोबार रकम ३१ करोड ६६ लाखमा सीमित बन्न पुगेको छ । 

यो दिन राम्रा र बलिया कम्पनीको सेयरमा खरीद चाप सामान्य बढेको देखिएको छ । यहीकारण सेन्सेटिभ इण्डेक्स ०.१९ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.१८ अंकको झिनो बढोत्तरी देखिएको छ । 

यो दिन बैंकिङ समूह २.३४ अंकले बढेको छ भने होटल समूहमा १७.०९ अंक, विकास बैंक समूह १.७ अंक, जलविद्युत समूह ५.७३ अंक, बित्त समूह ०.८७ अंक, उत्पादन तथा प्रशोधन समूह ७.४५ अंक, माइक्रोफाइनान्स समूह ७.४८ अंक र अन्य समूह २.०६ अंकले बढेका छन् । 

निर्जीवन बिमा समूह २१.८३ अंकले घटेको छ भने जीवन बिमा समूह ६.४ अंक र म्युचुअल फण्ड समूह ०.१९ अंकले घटेको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६६ कम्पनीका १० लाख ८४ हजार ५५३ कित्ता सेयर ३१ करोड ६६ लाख ४३ हजार ४२१ रुपैयाँमा किनबेच भएको छ। 

सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ३६ लाख बढीको कारोबार गरेको छ । 

सिद्धार्थ बैंकले १ करोड ६७ लाख बढीको कारोबार गरेको यो दिन नवील बैंकले १ करोड ५८ लाख, शिवम सिमेन्टले १ करोड ४८ लाख, नेपाल बैंकले १ करोड १० लाख, लुम्बिनी विकास बैंकले १ करोड ८ लाख, प्रभू बैंकले १ करोड ७ लाख, इन्भेष्टमेन्ट बैंकले ९० लाख, बैंक अफ काठमाण्डूले ८५ लाख र एभरेष्ट बैंकले ८२ लाख बढीको कारोबार गरेका छन् । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमीटेडले सबैभन्दा बढी कमाएको छ । यो कम्पनीको सेयर मूल्य ७ प्रतिशतको हाराहारीमा बढेको छ । 

यो दिन महुली सामुदायिक लघुवित्तका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्य ६ प्रतिशतको हाराहारीमा घट्यो ।