काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट आफ्ना सेयरधनीलाई लाभांश घोषणाको क्रमलाई जारी राखेका छन् । हालसम्म ८ वटा वाणिज्य बैंक, ९ वटा विकास बैंक, २२ वटा लघुवित्त संस्था, केही बिमा कम्पनी, केही जलविद्युत कम्पनी, केही म्युचुुअल फण्ड लगायतले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । 

लाभांश घोषणा गरेकामध्ये कतिपयले बोनस सेयरमा जोड दिएका छन् भने कतिपयले नगद लाभांशमा छ । तर समग्रमा हेर्दा गत वर्ष भन्दा यो वर्षको लाभांश घटेर आएको छ । 

हामीले यहाँ लाभांश घोषणा गरेका वाणिज्य बैंक र विकास बैंकहरुको मात्र तुलनात्मक विश्लेषण गरेका छौ । वाणिज्य बैंक र विकासमा लाभांश घोषणा गर्नेहरुको गत वर्षको अवस्थासँग तुलना गर्ने हो भने समग्र लाभांश घटेको छ भने नगद लाभांश बढाउन बित्तीय संस्थाहरुले जोड दिएका देखिन्छ । 

वाणिज्य बैंकमध्ये हालसम्म नबील बैंक लाभांश घोषणामा सबैभन्दा अगाडि छ । यो बैंकले ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । गत वर्षभन्दा बैंकले नगद लाभांशतर्फ बढी जोड गरेको देखिन्छ । कारण, गत वर्ष यो बैंकले ३० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

हालसम्म लाभांश घोषणा गरेका वाणिज्य बैंकमध्ये सबैभन्दा थोरै सनराइज बैंकको १५ प्रतिशत रहेको छ । गत वर्ष ३३.३३ प्रतिशत लाभांश वितरण गरेको यो बैंकले यो पटक १५ प्रतिशतभित्रै सेयरधनीलाई कर बापत तिर्नुपर्ने रकमको भारी समेत बोकाएको देखिन्छ । 

यसैगरी, विकास बैंकहरुमध्ये हालसम्म लाभांशको घोषणा गरेकामध्ये मितेरी डेभलपमेन्ट बैंक टप पोजिसनमा छ । यो बैंकले ३१.४८ प्रतिशत बोनस सेयर र १.६६ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको छ । आर्थिक वर्ष २०७३/७४ को नाफाबाट कुल ३३.१४ प्रतिशत लाभांश घोषणा गरेको यो बैंकले गत वर्ष भने ३१.५८ प्रतिशत लाभांश वितरण गरेको थियो । 

विकास बैंकमध्ये हालसम्म लाभांश घोषणा गरेकामा सप्तकोसी डेभलपमेन्ट बैंक सबैभन्दा कमजोर देखिएको छ । यो बैंकले ४.७८ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । कुल मिलाएर ५.०३ प्रतिशत लाभांश वितरणको घोषणा गरेको यो बैंकले गत वर्ष भने ११ प्रतिशत लाभांश वितरण गरेको थियो । 

अन्य वाणिज्य बैंक र विकास बैंकले कति लाभांश घोषणा गरे ? गत वर्षसँग तुलना गरी तयार तलको टेबल हेर्नुहोस्: