काठमाण्डौ । विभिन्न आर्थिक वर्षहरुमा वितरण गरेको लाभांश रकम हालसम्म पनि कतिपय सेयरधनीले नबुझेका भन्दै एनआइसीएशिया बैंकले एक विज्ञप्ति जारी गरेको छ । 

बैंकले विगत विभिन्न आर्थिक वर्षहरुमा वितरण गरेको लाभांश रकम हालसम्म बुझिलिन बाँकी भए सो लाभांश रकमको पूर्जी यस बैंकको सहायक कम्पनी श्री एन आई सी एशिया क्यापिटल लि. हनुमानस्थान, अनामनगर, काठमाडौंबाट प्राप्त गरी यथाशीघ्र आफ्नो खातामा जम्मा गर्न सम्बन्धित शेयरधनीहरुलाई आग्रह गरेको हो ।

साथै, लाभांश पूर्जी लिइसकेका सेयरधनीले समेत सो पूर्जी आफ्नो बैंक खातामा यथाशीघ्र जम्मा गर्न समेत बैंकले अनुरोध गरेको छ । 

यसैगरी, लामो समयदेखि बुझिलिन बाँकी लाभांश रकम प्रचलित ऐन कानून बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बैंकले जनाएको छ । 

आ.व. २०७५÷७६ मा बैंकले घोषणा गरेको लाभांश रकम सम्बन्धित शेयरधनीहरुको खातामा बैंकले जम्मा गरिसकेको तथा डिम्याट खाता नभएका शेयरधनीको मात्रै लाभांश रकम जम्मा गर्न बाँकी रहेकोले यथाशीघ्र यस बैंक तथा बैंकको सहायक कम्पनीमा सम्पर्क राखी आफ्नो शेयर डिम्याट गराउन समेत बैंकले आग्रह गरेको छ ।

विभिन्न आर्थिक वर्षहरुमा बैंकले वितरण गरी हालसम्म शेयरधनीहरुले बुझिलिन बाँकी भएका लाभांशको विवरण बैंकको वेभसाईटमा राखिएको तथा सो सम्बन्धमा विस्तृत विवरण एनआईसी एशिया क्यापिटलका कर्मचारी दामोदर रायमाझी (फोन नं. ०१५७०५९९४ एक्सटेन्सन नं. २०५) बाट प्राप्त गर्न सकिने बताइएको छ ।