काठमाण्डौ । हिमालयन बैंकको बोनस सेयर सूचिकरण गर्न नेप्सेले अस्वीकार गरेको छ । 

फागुन दोश्रो साता सम्पन्न बैंकको २७ औं वार्षिक साधारणसभाले संचालक समितिबाट भएको प्रस्ताव अनुसारको बोनस सेयर पारित गरे पनि सूचिकरण भने अझै हुन सकेको छैन । यसरी हेर्दा साधारणसभा सकिएको साढे ४ महिना समय बित्दा समेत बोनस सेयर सूचिकरण हुन सकेको छैन । 

बैंकको तर्फबाट बोनस सेयर सूचिकरणका लागि अनुरोध भए पनि नेप्सेले केही समस्यालाई कारणको रुपमा प्रस्तुत गर्दै अस्वीकार गरेको हो । 

स्रोतका अनुसार हिमालयन बैंकलाई नेपाल राष्ट्रबैंकले १५ प्रतिशतमा सीमित पब्लिक सेयर स्वामित्वलाई बढाएर ३० प्रतिशत पुर्याउन निर्देशन दिएको थियो । यो निर्देशनसँगै हाल १५ प्रतिशतमा रहेको सर्वसाधारणको सेयर स्वामित्व ३० प्रतिशत पुर्याउने गरी बैंकले पूँजीको १५ प्रतिशत सेयर सर्वसाधारणमा एफपीओको रुपमा ल्याउन खोजेको थियो । तर, यो विषयमा कतिपय संचालकको असहमति भएसँगै ३० प्रतिशत सर्वसाधारणको सेयर स्वामित्व पुर्याउने योजना सफल हुन सकेको थिएन । ३० प्रतिशत सेयर स्वामित्व पब्लिकको नभएको कारण देखाउँदै नेप्सेले हिमालयन बैंकको बोनस सेयर सूचिकरण गर्न नमानेको हो । 

हिमालयन बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव २७ औं वार्षिक साधारणसभाबाट पारित गराएको थियो । बोनस सेयरको साथमा करसहित १२ प्रतिशत नगद लाभांशको प्रस्ताव समेत पारित भएको थियो । नगद लाभांश सेयरधनीले पाए पनि बोनस सेयर भने सूचिकृत हुन सकेको छैन । 

अब के हुन्छ ?
बोनस सेयर सूचिकरणमा विलम्ब भएपछि हिमालयन बैंक लिमीटेडले पब्लिकको सेयर स्वामित्व ३० प्रतिशत बनाउने गरी १५ प्रतिशत संस्थापक सेयरलाई साधारण सेयरमा कन्भर्ट गर्ने तयारी थालेको छ । 

'अब एफपीओ आउँदैन । थप १५ प्रतिशत संस्थापक सेयर साधारणमा रुपान्तरण हुन्छ ।' स्रोतले भन्यो-'बैंकको संस्थापकको रुपमा रहेका हबिब बैंक र कर्मचारी सञ्चयकोष बाहेकका संस्थापकहरुको तर्फबाट १५ प्रतिशत सेयर साधारणमा रुपान्तरण  गर्ने सहमति आइसकेको छ।' 

यसरी हेर्दा १५ प्रतिशत थप संस्थापक सेयर साधारणमा परिणत भएपछि हिमालयन बैंकमा साधारण सेयरको हिस्सा ३० प्रतिशत हुनेछ । त्यसपछि भने अड्किएको बोनस सेयर समेत नेप्सेमा सूचिकृत गर्ने बाटो खुल्नेछ ।