काठमाण्डौ । लामो समयपछि सिन्धुपाल्चोकको राम्चे आसपासलाई केन्द्रविन्दू बनाएर ६ रिक्टर स्केलको भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ः१९ बजे भूकम्प गएको हो । ५ रिक्टर स्केलसम्मका पराकम्पनहरु गइरहे पनि निकै लामो समयपछि ६ रिक्टर स्केलको भूकम्प मापन गरिएको हो । 

केन्द्रविन्दू राम्चे आसपास भए पनि भूकम्पको धक्का काठमाण्डौ लगायतका जिल्लामा महसुस गरिएको थियो । 

भूकम्प गएपछि एकाबिहानै काठमाण्डौबासीहरु घरबाट सडकमा निस्किएका थिए । 

भूकम्प मापन केन्द्रले भूकम्पको यो धक्का ०७२ सालकै महाभूकम्पको पराकम्पन रहेको प्रष्ट पारेको छ । 

यसअघि भदौ २६ गते पनि नेपाल भारत सीमा नजिक केन्द्रविन्दू बनाएर ५ रिक्टर स्केलको भूकम्प गएको थियो । 

बुधबार बिहान गएको भूकम्पको क्षतिको विवरण आइसकेको छैन । 

सिन्धुपाल्चोक नै केन्द्रविन्दू रहेको र सो जिल्लाका केही क्षेत्रमा पहिरो समेत गइरहेकोले अवस्था थप जटिल बन्नसक्ने स्थानीय अधिकारीहरुले बताएका छन् ।