काठमाण्डौ । लिबियामा बढेको हिंसा र एयरस्ट्राइकको खबरपछि विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७१ डलरको उचाईमा पुगेको छ। 

मंगलबार ग्लोबल बेञ्चमार्कमा कच्चा तेलको मूल्य लगभग १४ सेन्ट बढेर ७१.३४ डलर प्रतिब्यारेलको उचाईमा पुगेको हो । 

कच्चा तेलको यो मूल्य ५ महिनाकै उच्च हो । 

लिबिया हिंसापछि विश्वबजारमा तेलको आपूर्ति घट्ने अनुमानमा मूल्यमा उछाल आएको एजेन्सीहरुले जनाएका छन् । यसअघि तेल उत्पादक देशहरुको साझा संगठन ओपेकले नियमित उत्पादनमा कटौति र अमेरिकाले भेनेजुएला र इरानमा लगाएको प्रतिबन्धको कारण तेलको आपूर्ति कम भइरहेको समयमा लिबियाको विषयमा समेत यस्तो समाचार आएपछि आपूर्ति कम भई मूल्य अझै बढ्नेसक्ने अनुमानमा मंगलबार कच्चा तेलको मूल्यले पाँच महिनाकै सर्वाधिक उचाई चुमेको बताइएको छ।

आर्थिक मन्दी र कमजोर मागको आशंकाका बाबजुद ओपेकद्वारा उत्पादनमा कटौति गरिएको कारण मूल्यमा ३० प्रतिशतसम्मको वृद्धि भइसकेको छ । 

रोयटर्सका अनुसार लिबियामा तेल उत्पादन र निर्यातको बिषयमा कुनै अन्यौल उत्पन्न भइहालेको छैन । तर, हिंसाको खबर कच्चा तेलको मूल्य वृद्धिका लागि यथेष्ठ कारण हो । 

ओपेक सदस्य लिबियाले दैनिक १.१ मिलियन ब्यारेल तेल उत्पादन गर्दै आएको छ, जुन विश्वमा दैनिक उत्पादन हुने तेलको तुलनामा १ प्रतिशत मात्र हो । 

एक ग्लोबल एनलिस्टले भनेका छन्–‘हिंसाको खबरपछि लिबियामा तेलको सप्लाई घट्ने चिन्ता बढेको छ ।’ 

सोमबार सिरियाको त्रिपोलीको एक मात्र सक्रिय एयरपोर्टमा एक लडाकू विमानको आक्रमणपछि तनाव निकै बढेको छ । 

कारोबारीहरुले आर्थिक मन्दीको चिन्ताका कारण तेलको खपत घट्ने आंशकाका बाबजुद मूल्य पनि तीव्र वृद्धि भइरहेको छ ।