काठमाण्डौ । सिभिल बैंक लिमीटडले लिलामीमा राखेको २९ लाख ९२ हजार बढी कित्ता संस्थापक सेयर कर्मचारी सञ्चयकोष र राष्ट्रिय बिमा कम्पनीले उठाएका छन् । 

बैंकले नेपाल राष्ट्रबैंकले तोकेबमोजिमको चुक्तापूँजी रु. ८ अर्ब पुर्याउन बुझाएको पूँजी योजना बमोजिम ४० प्रतिशत हकप्रद शेयर वितरण गर्न बैंकले शेयर बिक्री प्रबन्धका लागि लक्ष्मी क्यापिटल मार्केटलाई नियुक्त गरेको थियो । जसमध्ये संस्थापक समूहको आवेदन नपरेको २९,९२,२१०.२५ कित्ता हकप्रद शेयर बिक्रिका लागि जेठ ९ गतेसम्म शिलबन्दी बोलपत्र माग गरिएकोमा कर्मचारी संचय कोष र राष्ट्रिय बीमा कम्पनीको आवेदन परेको हो ।

कुल ३२,२५,६२० कित्ता शेयरका लागि आवेदन परेकोमा अधिकतम बोली रु १५० र न्यूनतम बोली रु १०० परेको सिभिल बैंकले जनाएको छ । यससंगै बैंकको चुक्तापूँजी रु सात अर्ब पच्चिस करोड त्रियानब्बे लाख दशहजार तीनसय बैसठ्ठी पुग्ने बैंकले बताएको छ।

आ.व. २०७४/७५ को चैत्र मसान्तसम्म २००,००० भन्दा बढी ग्राहकहरु रहेको, करीब रु.३७ अर्बको निक्षेप परिचालन गरी करीब रु.३६ अर्बभन्दा बढीको कर्जा लगानी गर्नुका साथै रु ३५ करोड खुद मुनाफा कमाउन सफल भएको सिभिल बैंकको कुल शाखा संख्या ६१ पुगेकोे पनि बैंकले जनाएको छ ।

सिभिल बैंकले संचित मुनाफाबाट बोनस शेयर वितरण गरी अपुग चुक्तापूँजी पुर्याउने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।