काठमाण्डौ । सनराइज बैंक लिमीटेडले बोनस सेयर जारी गरेर चुक्तापूँजी ८ अर्ब पुर्याएको छ । बैंकले १५ प्रतिशत बोनस सेयरको प्रस्ताव पारित गरेसँगै चुक्तापूँजी ८ अर्बको उचाईमा पुुगेको हो।

सोमबार सम्पन्न बैंकको १० औं वार्षिक साधारणसभाले संचालक समितिबाट पेश भएको १५ प्रतिशत बोनस वितरणको प्रस्ताव पारित गरेको हो । यो प्रस्ताव पारित भएसँगै अब बैंकले १ अर्ब ६ करोड ३३ लाख ७६ हजार ८ सय ५० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । बैंकले हकप्रद सेयर निश्कासनको क्रममा बिक्री नभएको ७ लाख १० हजार ७ सय ४३ कित्ता सेयर लिलामीबाट खरीद गर्नेहरुलाई समेत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । 

यस्तै, साधारणसभाले निर्वाचन सम्पन्न नभए सम्मका लागि संस्थापक शेयरधनी समूह “क” को तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकहरुलाई संचालक समितिमा निरन्तरता दिने प्रस्ताव समेत पारित गरेको छ । 

साधारणसभाले सनराइज बैंक तथा बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लिमिटेडको २०७४ आषाढ मसान्तसम्मको वासलात तथा आ.व. २०७३/७४ को नाफा–नोक्सान हिसाब र नगद प्रवाहसहितको एकिकृत वित्तीय  विवरण समेत स्वीकृत गरेको छ । 

बैंकको हाल शाखाहरुको संख्या ७० र ए.टि.एम.को संख्या ८७ रहेको छ । जसमध्ये काठमाडौं उपत्यका भित्र २९ शाखाहरु र उपत्यका बाहिर ४१ शाखाहरु छन् । बैंकले सनराइज सेफ डिपोजिट लकर सुविधा, भिसा डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, रेमिटान्स, सन्राइज माइक्रो बैंकिङ्ग लगायत आधुनिक बैंकिङ्ग सेवाहरु समेत प्रदान गर्र्दै आइरहेको जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले साधारणसभामा जानकारी गराए ।