काठमाण्डौ । हकप्रदका लागि पैसाको जोहो गर्नुपर्ने बाध्यता, नयाँ बिमा कम्पनीहरुका लागि पूँजी जुटाउनुपर्ने अवस्था र दोश्रो बजारमा सेयर किन्दा बुुझाउनुपर्ने ब्रोकर कमिसन र डिपी लगायतका खर्च नहुने भएपछि लगानीकर्ता बोल–कबोलबाट सेयर किन्न लालायित हुँदा नेप्से परिसूचकमा अझै अपेक्षित सुधार हुन सकेको छैन । 

आइतबार नेप्से परिसूचक ८.२३ अंकले वृद्धि भई १५६७.७२ को उचाईमा पुुगे पनि यसलाई अपेक्षित सुधार मान्न सकिन्न । परिसूचकमा सामान्य वृद्धि भए पनि कारोबार रकमले चाहि फड्को मारेको छ । 

बिमाको परिसूचक ८.६९ अंकले घटेको छ अन्य समूहको परिसूचक हराभरा भएको छ । वाणिज्य बैंक समूह १२.५६ अंक, होटल समूह ११.०४, विकास बैंक समूह ४.४३, जलविद्युत समूह १.८३ अंक, बित्त समूह २.७ अंक, उत्पादनमूलक ८.४६ र अन्य समूह ०.८७ अंकले बढ्यो । 

आइतबार ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स १.८५ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.६३ अंकले वृद्धि भएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
साताको पहिलो कारोबार दिन १ सय ४८ कम्पनीका १५ लाख ८५ हजार ९ सय ६७ कित्ता सेयर ७३ करोड ९४ लाख ४१ हजार ३ सय ३५ रुपैयाँमा किनबेच भयो । यो दिन सबैभन्दा बढी प्रभूू बैंकको ११ करोड ७२ लाख बढीको कारोबार भयो । यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्सले ५ करोड १५ लाख, एभरेष्ट बैंकले ४ करोड ८६ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३ करोड ५० लाख, नेको इन्स्योरेन्सले २ करोड ९० लाख, हिमालय जनरल इन्स्योरेन्सले २ करोड ६० लाख बढीको कारोबार गर्यो । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ५ स्थान वाणिज्य बैंक, ४ स्थान बिमा कम्पनी र एकस्थान विकास बैंकले कब्जा गर्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी
आइतबार सबैभन्दा बढी रिलायन्स फाइनान्सले कमायो । यो कम्पनीको सेयर मूल्य ८.५७ प्रतिशतले वृद्धि भयो । यस्तै, सिन्धुु विकास बैंकको मूल्य ६.५५ प्रतिशत, कञ्चन डेभलपमेन्ट बैंक लिमीटेडले ६.१० प्रतिशत र फरवार्ड माइक्रो फाइनान्सको ६ प्रतिशतले मूल्य बढेको छ । 

यस्तै, वल्र्ड मर्चेन्ट बैकिंग एण्ड फाइनान्स लिमीटेडको मूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट भयो ।