डोल्पा ।  बहुमूल्य जडीबुटी यार्सागुम्बा बिक्री वितरणका लागि छिमेकी राष्ट्र चीन लैजाने तयारी भइरहेको छ। यार्चागुम्बा सिजन सकिएलगत्तै सदरमुकाम दुनैमा यार्सागुम्बा बेच्न चीन जाने व्यापारीको घुइँचो लागेको छ।  

डोल्पाका लागि व्यापारिक नाका चीनमा बहुमूल्य जडीबुटी यार्सागुम्बा प्रतिकिलो १५ लाखदेखि रु ३० लाख मूल्यसम्ममा बिक्री वितरण हुने भएकाले व्यापारी यार्सा बेच्न आफैँ चीन जाने गर्दछन्।अघिल्ला वर्षमा यार्सागुम्बा व्यापारी माथि भएको करोडौँ बराबरको लुटपाटका डरले गत वर्षदेखि प्रहरी सुरक्षामा यार्सागुम्बा व्यापारीलाई चीन लैजाने र ल्याउने तयारी गरिएको प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए।   यार्सागुम्बा बिक्री गर्न चीन जाने व्यापारी ५० जनाभन्दा धेरै सदरमुकाममा जम्मा भएका र बुधबार प्रहरी स्कटिङमा व्यापारीलाई चीन लैजाने तयारी भइसकेको खड्काले जानकारी दिए।

प्रहरीले यार्सागुम्बा बेच्न चीन जाने व्यापारीलाई आजसम्मका लागि सदरमुकाम दुनैमा जम्मा हुन विभिन्न माध्यमबाट सूचना जारी गरेको थियो।   प्रहरी आफैँ जाने भएकाले यस वर्ष व्यापारीलाई कुनै किसिमको चिन्ता नलिन आग्रह समेत गरेको छ। करिब सात दिनको पैदलयात्रा पछि व्यापारिक नाका चीन पुगिने गर्दछ।हरेक वर्ष यार्सागुम्बा सिजन सकिएलगत्तै यार्सा कारोबारका लागि मात्र निश्चित समयका लागि नाका खुल्ने गर्दछ।   यार्सागुम्बा बेचेर व्यापारी नजिकिँदो दसैं तिहारमा बिक्री गर्न तथा घरायसी प्रयोजनका लागि भेडा, च्याङ्ग्रा, भाँडा, कपडालगायतका चाइनिज सामान समेत ल्याउने गर्दछन् ।