काठमाण्डौ । मर्जरको क्रममा भएका अनियमितता र घोटालाहरुको पटाक्षेप हुन थालेपछि र त्यसैका कारण नियामक नेपाल राष्ट्रबैंकले समेत बैंकमा सुपरीवेक्षण र निरीक्षण गर्न थालेपछि लुम्बिनी विकास बैंक छाड्ने लहर चलेको छ । 

केही दिनअघि व्यक्तिगत कारण देखाउँदै प्रमुख कार्यकारी अधिकृत झलक खनालले बैंक व्यवस्थापनको नेतृत्वबाट राजीनामा दिएलगत्तै बैंकका संचालक समिति अध्यक्षले समेत राजीनामा दिएका छन् । 

लुम्बिनी विकास बैंक लिमीटेडका संचालक समिति अध्यक्ष सुशीलराज पराजुलीले दिएको राजीनामा बैंकको ३०० औं बोर्ड बैठकले स्वीकृत गरेको हो । 

सोही बैठकले संचालक अशोकराज पाण्डेलाई अध्यक्ष बनाउने निर्णय गरेको छ । 

के हुँदैछ लुम्बिनी विकास बैंकमा ?
भिबोर विकास बैंकबाट भिबोर सोसाइटी विकास बैंक हुँदादेखि भिबोर सोसाइटीलाई समेत लुम्बिनी विकास बैंकमा रुपान्तरण गर्दासम्मको अवधिमा निकै धेरै  अनियमितता र घोटालाहरु भएका स्रोतको दाबी छ । 

संचालक समितिका अध्यक्ष सुशीलराज पराजुली र सीइओ खनालको मिलेमतोमा मर्जरको क्रममा कमसल धितो राखेर जथाभावी ऋण प्रवाह भएको, मर्जरको नाममा मनलाग्दी खर्च गरेको लगायतका गम्भीर आरोपहरु लाग्दै आएको छ । 

यो बैंकमा मर्जरको क्रममा घोटाला भएका सूचना पाएको केन्द्रीय बैंकले समेत छानबिन थालेको बुझिएको छ । केन्द्रीय बैंकले प्रारम्भिक छानबिनको क्रममा कैफियत भेटिएपछि बैंकभित्रैबाट खनाल र अध्यक्ष पराजुलीलाई पद छाड्न दवाब थियो । स्रोतका अनुसार नेपाल राष्ट्रबैंकका अधिकारीहरुले समेत जिम्मेवारीमा रहँदा मर्जरको क्रममा भएका घोटालाको प्रमाण नष्ट हुनसक्ने भन्दै उनीहरुलाई राजीनामा दिन निर्देशन दिंदै आएका थिए । राजीनामा नदिंदा झनै अप्ठ्यारो पर्ने देखेपछि खनाल र पराजुलीले राजीनामा दिएका हुन् ।

मर्जरको क्रममा लुम्बिनी विकास बैंकमा एपेक्स डेभलपमेन्ट बैंकमा झै ठूला घोटालाहरु देखिएका र प्रारम्भिक छानबिनको क्रममा देखिएको कैफियत प्रमाणित भए यो बैंकबाट समेत धेरै व्यक्ति फन्दामा पर्नसक्ने स्रोतहरु दाबी गर्छन ।