काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योेरेन्स कम्पनी लिमीटेडले आगामी पुस १४ गते शुक्रबार आफ्नो १३ औं वार्षिक साधारणसभा(एजीएम) आह्वान गरेको छ । 

यो निर्जीवन बिमा कम्पनीले काठमाण्डौको डिल्लीबजार, कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा आफ्नो वार्षिक साधारणसभा आह्वान गरेको हो । 

वार्षिक साधारणसभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट चुक्तापुँजी ७८ करोडको १२.८२ प्रतिशत बोनस सेयर वितरणको निर्णय गर्नेछ । यो निर्णय पारित भए कम्पनीले १० करोड बराबरको बोनस सेयर वितरण गर्नुपर्नेछ । 

यस्तै संस्थापक सेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने सदस्यहरुको संख्या घटाउने प्रस्ताव समेत साधारणसभामा पेश हुने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ ।

साधारणसभारले संस्थापक सेयरधनीहरुबाटै प्रतिनिधित्व हुने गरी ४ जना संचालकहरुको निर्वाचन समेत गर्नेछ । 

साधारणसभामा बोनस सेयरको कर प्रयोजनका लागि ५२ लाख ६३ हजार १ सय ५८ रुपैयाँ नगद लाभांश वितरणको प्रस्ताव समेत पेश हुनेछ । 

बुक क्लोज कहिले ?
यसैबीच, यो बिमा कम्पनीले साधारणसभा प्रयोजनका लागि मंसिर २९ गतेलाई बुक क्लोजको मिति तोकेको छ । यसको अर्थ मंसिर २८ गतेसम्म यो कम्पनीको सेयर खरीद गर्ने वा आफ्नो नाममा नामसारी गर्नेहरुले साधारणसभामा सहभागी बन्न, निर्वाचनमा सहभागी हुन तथा घोषित लाभांश पाउन योग्य मानिनेछन् ।